न्यायालय सुधार गर्न उच्चस्तरीय समिति बनाउने डा. शर्माको योजना

User Image Prime TV News ५ घण्टा अगाडि
Image of न्यायालय सुधार गर्न उच्चस्तरीय समिति बनाउने डा. शर्माको योजना

काठमाडौ । प्रधानन्यायाधीशमा सिफारिस भएका डा. मनोजकुमार शर्माले न्यायालय सुधारका लागि एक महिनाभित्र उच्चस्तरीय अध्ययन समिति बनाउने योजना सार्वजनिक गरेका छन्। संसदीय सुनुवाइ समितिमा पेस गरेको कार्ययोजनामा उनले अदालतको कामलाई छिटो, सरल र प्रभावकारी बनाउने लक्ष्य राखेका छन्।

उनले अदालतमा रहेका कानुनी र प्रशासनिक समस्या अध्ययन गरेर सुधारका सुझाव दिन समिति गठन गरिने बताएका छन्। समितिले सर्वोच्च अदालतसहित अन्य अदालतको अधिकार क्षेत्र, मुद्दा व्यवस्थापन र पेसी प्रणालीबारे अध्ययन गर्नेछ।

डा. शर्माले अध्ययन समितिको प्रतिवेदनका आधारमा कानुन सुधारका लागि आवश्यक पहल गरिने उल्लेख गरेका छन्। उनले न्यायाधीशहरूलाई न्यायिक काममै केन्द्रित गराउन प्रशासनिक जिम्मेवारीको व्यवस्था पनि परिवर्तन गर्नुपर्ने बताएका छन्।

उनका अनुसार कार्ययोजना सफल बनाउन न्यायाधीश, अदालत प्रशासन र सम्बन्धित निकायबीच सहकार्य आवश्यक हुने उल्लेख गरेका छन् । डा. शर्माको कार्ययोजनामाथि आज संसदीय सुनुवाइ समितिमा छलफल भइरहेको छ।