जेनजी आन्दोलनका कारण राष्ट्रपति कार्यालयको लेखा परीक्षण प्रभावित

User Image Prime TV News ४ घण्टा अगाडि
Image of जेनजी आन्दोलनका कारण राष्ट्रपति कार्यालयको लेखा परीक्षण प्रभावित

काठमाडौ । गत भदौ २३–२४ मा भएको जेनजी आन्दोलनका क्रममा कागजात जलेपछि यस वर्ष राष्ट्रपति कार्यालयको लेखा परीक्षण हुन नसकेको पाइएको छ।

महालेखा परीक्षकको कार्यालयका अनुसार आन्दोलनका क्रममा आवश्यक स्रेस्ता र आर्थिक कागजात नष्ट भएपछि राष्ट्रपति कार्यालयको लेखा परीक्षण अघि बढ्न सकेको छैन। कार्यालयका अनुसार राष्ट्रपति कार्यालयको विनियोजनतर्फ १४ करोड १९ लाख १२ हजार, राजस्वतर्फ ५३ हजार र धरौटीतर्फ २ करोड ९ लाख ८२ हजार रुपैयाँ गरी कुल १६ करोड २९ लाख ४७ हजार रुपैयाँ बराबरको लेखा परीक्षण रोकिएको हो।

राष्ट्रपति कार्यालयमा ६८ कर्मचारीको दरबन्दी रहेको पनि उल्लेख गरिएको छ। महालेखा परीक्षक तोयम रायाका अनुसार जेनजी आन्दोलनका कारण देशभरको ठूलो आर्थिक लेखा परीक्षण प्रभावित भएको छ। संघीय, प्रदेश, स्थानीय तह तथा अन्य निकायसमेत गरी कुल ९४ खर्ब ८४ अर्ब ५० करोड रुपैयाँको लेखा परीक्षण भए पनि १ सय ७९ कार्यालयका कागजात नष्ट हुँदा १ खर्ब ४७ अर्ब ९० करोड रुपैयाँ बराबरको लेखा परीक्षण प्रभावित भएको छ।

यस वर्ष संघीय निकायतर्फ ५३ अर्ब ४९ करोड, प्रदेशतर्फ ५ अर्ब २३ करोड र स्थानीय तहतर्फ १९ अर्ब ५ करोड रुपैयाँ बेरुजु देखिएको छ। त्यसैगरी समिति तथा अन्य संस्थातर्फ १० अर्ब ३२ करोड रुपैयाँ बेरुजु देखिएको छ। कुल बेरुजु ७ खर्ब ५५ अर्ब १७ करोड पुगेको महालेखा परीक्षकको कार्यालयले जनाएको छ।

महालेखा परीक्षक रायाका अनुसार एक वर्षमा १४ अर्ब ६३ करोड रुपैयाँ असुल गरिएको छ, जुन सकारात्मक प्रगति भएको उल्लेख गरिएको छ।