सांसद कृष्णकुमार कार्कीमाथि आरोप, संसदमा छानबिनको माग
Prime TV News ४ घण्टा अगाडि 
काठमाडौ । रास्वपा सांसद कृष्णकुमार कार्कीमाथि विदेशी महिलालाई गर्भवती बनाएर सम्पर्कविहीन भएको आरोप लागेपछि संसदमा छानबिनको माग उठेको छ। एक साप्ताहिक पत्रिकामा प्रकाशित समाचारमा सांसद कार्कीले नाइजेरियन नागरिक रिता अजुकोसँग सम्बन्ध राखेर उनलाई गर्भवती बनाएको र पछि सम्पर्कमा नरहेको दाबी गरिएको छ।
समाचारसँगै सार्वजनिक भएका केही फोटो, भिडियो र च्याट स्क्रिनसटलाई आधार मान्दै उनीहरूबीच सम्बन्ध रहेको दाबी गरिएको छ। साथै गर्भ परीक्षण रिपोर्टमा पनि सांसद कार्कीको नाम उल्लेख भएको बताइएको छ।
सुरुमा गर्भपतन रोकिएको तर पछि कार्की सम्पर्कविहीन बनेको समाचारमा उल्लेख छ। सांसद कार्कीले यस विषयमा अहिलेसम्म कुनै प्रतिक्रिया दिएका छैनन्। उनी पछिल्ला दुई प्रतिनिधिसभा बैठकमा पनि उपस्थित भएका छैनन्। आजको संसद बैठकमा नेकपाकी सांसद पार्वती विकले यो विषय उठाउँदै निष्पक्ष छानबिन गरी दोषी देखिए कारबाही गर्न माग गरेकी छन्।
त्यस्तै, जेनजी मुभमेन्ट नेपालले पनि विज्ञप्ति जारी गर्दै सांसद कार्कीमाथि अनुसन्धान गरी आवश्यक कारबाही गर्न सरकारसँग माग गरेको छ।







