डा. मनोज शर्मामाथि सुनुवाइमा उजुरीकर्ताको प्रश्न, योग्यता र प्रमाणपत्र जाँचको माग

User Image Prime TV News ४ घण्टा अगाडि
Image of डा. मनोज शर्मामाथि सुनुवाइमा उजुरीकर्ताको प्रश्न, योग्यता र प्रमाणपत्र जाँचको माग

काठमाडौ । प्रस्तावित प्रधानन्यायाधीश डा. मनोजकुमार शर्मामाथि संसदीय सुनुवाइ समितिमा उजुरीकर्तासँग छलफल सकिएको छ । सिंहदरबारमा बसेको बैठकमा उनीविरुद्ध परेका १६ वटा उजुरीमाथि छलफल भएको हो। उजुरीकर्ताहरूले उनको शैक्षिक योग्यता र क्षमतामाथि प्रश्न उठाएका छन्।

मकवानपुरका उजुरीकर्ता दीपक न्यौपानेले शर्माको शैक्षिक प्रमाणपत्र झिकाएर अध्ययन गर्न माग गरेका छन्। उनले नियुक्ति प्रक्रियामा पारदर्शिता नभएको भन्दै आवश्यक कागजात र प्रमाण जाँच गर्नुपर्ने बताए। न्यौपानेले सर्वोच्च अदालतमा नियुक्ति हुनुअघि अनियमितता र प्रभाव प्रयोग भएको आशंका पनि व्यक्त गरे।

छलफलका क्रममा सांसदहरूले पनि विभिन्न प्रश्न उठाएका छन्। रास्वपा सांसद राजीव खत्रीले बौद्धिक चोरीको आरोपबारे प्रमाण माग गरेका छन्। नेकपा सांसद वर्षमान पुनले मुद्दा प्रभावित गर्न रकम लिएको भनिएको आरोपको आधार के हो भनेर प्रश्न गरेका छन्।

एमाले सांसद पद्मा अर्यालले आरोप गलत ठहरिए जिम्मेवारी कसले लिने भनेर प्रश्न गरेकी छन्। त्यस्तै, रास्वपा सांसद मधु चौलागाईं र नेकपा सांसद नरबहादुर विष्टले पनि उठाइएका आरोपबारे स्पष्ट प्रमाण माग गरेका छन्। उजुरीकर्ता न्यौपानेले भने आफूले व्यक्तिगत रिसइबी नभएको भन्दै प्रमाण जाँच गरेर मात्रै निष्कर्ष निकाल्नुपर्ने अडान दोहोर्‍याएका छन्।