कांग्रेस इतर समूहले अनामनगरमा सम्पर्क कार्यालय खोल्यो

User Image Prime TV News ३ घण्टा अगाडि
Image of कांग्रेस इतर समूहले अनामनगरमा सम्पर्क कार्यालय खोल्यो

काठमाडौ । नेपाली कांग्रेसको इतर समूहले काठमाडौंको अनामनगरमा सम्पर्क कार्यालय स्थापना गरेको छ। पार्टीभित्रको असन्तुष्ट समूहले आगामी १५औं महाधिवेशनको तयारी र पार्टी एकताको वातावरण बनाउन भन्दै कार्यालय खोलेको हो।

निवर्तमान सभापति शेरबहादुर देउवा समूहसँग असन्तुष्ट रहेका नेताहरूको सक्रियतामा यो कार्यालय स्थापना गरिएको बताइएको छ। समूहमा गुरु बराल, जितजंग बस्नेत, जित शेरचन, कुन्दन काफ्ले र केदार कार्की लगायतका नेता सहभागी छन्। उनीहरू मध्ये केही पूर्व केन्द्रीय सदस्य तथा प्रदेश सरकारका पूर्व र वर्तमान पदाधिकारीसमेत रहेका छन्।

समूहका नेता मनहरि श्रेष्ठले कार्यालय नयाँ पार्टी गठनका लागि नभई महाधिवेशनलाई एकताको दिशामा लैजान दबाब दिन स्थापना गरिएको बताए। उनका अनुसार वैशाखदेखि नै यस समूहले सम्पर्क कार्यालयमार्फत तयारीका काम गर्दै आएको छ।

नेता गुरु बरालले पनि पार्टी एकता मजबुत बनाउन र महाधिवेशनलाई व्यवस्थित बनाउन कार्यालय खोलिएको बताएका छन्। अनामनगरस्थित कार्यालयमा विभिन्न नेता तथा कार्यकर्ताको उपस्थिति देखिएको छ। कार्यालयमा नेपाली कांग्रेसका शीर्ष नेताहरूका तस्बिरहरू पनि राखिएका छन् ।