क्यानविरुद्धका सबै मुद्दा फिर्ता लिने जोरा स्पोर्ट्सको घोषणा

User Image Prime TV News २ घण्टा अगाडि
Image of क्यानविरुद्धका सबै मुद्दा फिर्ता लिने जोरा स्पोर्ट्सको घोषणा

काठमाडौ । जोरा स्पोर्ट्स म्यानेजमेन्टले नेपाल क्रिकेट संघ (क्यान) विरुद्ध दायर गरेका सबै मुद्दा फिर्ता लिने घोषणा गरेको छ। कम्पनीका प्रबन्ध निर्देशक आमिर अख्तरले सोमबार विज्ञप्ति जारी गर्दै अदालतमा रहेका सम्पूर्ण मुद्दा फिर्ता लिन तयार रहेको बताएका हुन्।

जोरा स्पोर्ट्सले नेपाल प्रिमियर लिग (एनपीएल) को आधिकारिकता, स्वामित्व र बौद्धिक सम्पत्तिसम्बन्धी विषयमा सर्वोच्च अदालत, काठमाडौं जिल्ला अदालत र उच्च अदालत पाटनमा मुद्दा दायर गरेको थियो।

अख्तरले अदालत जानु व्यक्तिगत विवादका कारण नभई खेलकुद क्षेत्र सुधार र विकासका लागि भएको बताएका छन्। उनले राष्ट्रिय खेलकुद परिषद्ले सबै पक्षलाई मिलेर खेल विकासमा लाग्न आग्रह गरेपछि मुद्दा फिर्ता लिने निर्णय गरिएको जानकारी दिए।

यद्यपि, ‘नेपाल प्रिमियर लिग प्राइभेट लिमिटेड’ कम्पनी र त्यससँग सम्बन्धित बैंक खातामाथिको आफ्नो स्वामित्व भने कायम रहने उनले स्पष्ट पारे। अख्तरले आगामी दिनमा पनि क्रिकेटसहित समग्र खेलकुद विकासका लागि सहकार्य गर्दै अघि बढ्ने प्रतिबद्धता जनाएका छन्।