सेबोन अध्यक्षका लागि ४ जना अन्तिम सूचीमा

User Image Prime TV News २ घण्टा अगाडि
Image of सेबोन अध्यक्षका लागि ४ जना अन्तिम सूचीमा

काठमाडौ । नेपाल धितोपत्र बोर्ड (सेबोन) को नयाँ अध्यक्ष चयन प्रक्रियामा ४ जना उम्मेदवार अन्तिम सूचीमा परेका छन्। राष्ट्रिय योजना आयोगका सदस्य डा. सञ्जय आचार्यको संयोजकत्वमा रहेको सिफारिस समितिले मंगलबार नाम सार्वजनिक गरेको हो।

अध्यक्ष पदका लागि ४७ जनाले आवेदन दिएका थिए। तीमध्ये डा. नवराज अधिकारी, विनयदेव आचार्य, मुकुन्द कुमार क्षेत्री र डा. गोपालप्रसाद भट्ट छनोट भएका छन्। सर्टलिस्टमा परेका उम्मेदवारहरूको अन्तर्वार्ता आगामी जेठ ८ गते हुने तय गरिएको छ।

डा. नवराज अधिकारी सेबोनका पूर्वकार्यकारी निर्देशक हुन्। विनयदेव आचार्य हाल सेबोनमै कार्यकारी निर्देशकका रूपमा कार्यरत छन्। मुकुन्द कुमार क्षेत्री सेबोनका पूर्वसञ्चालक हुन् भने डा. गोपालप्रसाद भट्ट नेपाल राष्ट्र बैंकका पूर्वकार्यकारी निर्देशक हुन्।

यसअघि समितिको नेतृत्व डा. गुणाकर भट्टले गरेका थिए। तर उम्मेदवारमध्ये आफ्नै दाजु पर्ने व्यक्ति परेपछि स्वार्थ बाझिने भन्दै उनले राजीनामा दिएका थिए। त्यसपछि डा. सञ्जय आचार्यलाई समितिको संयोजक बनाइएको हो। पूर्वअध्यक्ष सन्तोषनारायण श्रेष्ठले राजीनामा दिएपछि सरकारले नयाँ अध्यक्ष नियुक्तिको प्रक्रिया अघि बढाएको हो।