फरक मतको सम्मान गर्छौं, गन्तव्यमा सहमति छः अर्थमन्त्री वाग्ले
Prime TV News एक घण्टा अगाडि 
काठमाडौ । अर्थमन्त्री स्वर्णिम वाग्लेले सरकारले फरक मतको सम्मान गर्ने र बहुलवादी लोकतन्त्रमा विश्वास गर्ने बताएका छन्। बजेटका प्राथमिकतामाथिको छलफलमा सांसदहरूले उठाएका प्रश्नको जवाफ दिँदै उनले राष्ट्र निर्माण सबैको साझा उद्देश्य भएकाले गन्तव्यमा ठूलो विवाद नभएको स्पष्ट पारे।
उनका अनुसार सुशासनयुक्त र समुन्नत नेपाल निर्माण सबैको साझा लक्ष्य हो। अर्थतन्त्रको विस्तार, रोजगारी वृद्धि, सामाजिक न्याय र अन्तर्राष्ट्रिय प्रतिष्ठा जस्ता विषयमा सबैको सहमति भए पनि त्यसमा पुग्ने बाटो फरक हुन सक्ने उनले बताए।
वाग्लेले पछिल्ला तीन दशकको नीति र शासन शैलीका कारण देशले कुशासनको ठूलो मूल्य चुकाउनुपरेको दाबी गरे। उनले सुशासन र संरचनात्मक सुधारलाई प्राथमिकतामा राखेर नयाँ नीति तथा कार्यक्रम अघि बढाइएको बताए। अर्थमन्त्री वाग्लेले विपक्षीलाई संकेत गर्दै आफ्ना नीति र दस्तावेज अनुमोदनका लागि आगामी निर्वाचनसम्म कुर्नुपर्ने अवस्था रहेको टिप्पणी गरे।
उनले संविधानप्रति सरकार पूर्ण प्रतिबद्ध रहेको भन्दै आवश्यक परे संविधानकै प्रावधानअनुसार संशोधन अघि बढाइने स्पष्ट पारे।







