पश्चिमी वायुको प्रभाव : पहाडमा वर्षा, तराईमा बढ्दो गर्मी
Prime TV News ५५ मिनेट अगाडि 
काठमाडौ । नेपालमा अहिले पश्चिमी वायु र स्थानीय वायुको प्रभाव सक्रिय रहेकाले देशका विभिन्न क्षेत्रमा मौसम बदली भएको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार पहाडी तथा हिमाली क्षेत्रमा बादल लाग्ने र केही स्थानमा वर्षा हुने सम्भावना रहेको छ।
महाशाखाले आज दिउँसो कोशी प्रदेश, मधेस प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेश लगायत लुम्बिनी प्रदेश र कर्णाली प्रदेश का पहाडी तथा हिमाली भूभागमा सामान्यदेखि आंशिक बदली रहने जनाएको छ। बाँकी तराई क्षेत्रमा भने मौसम मुख्यतया सफा रहनेछ।
कोशी, बागमती र गण्डकी प्रदेशका केही स्थानमा मध्यम वर्षा हुन सक्ने अनुमान गरिएको छ। साथै मधेस प्रदेशसहित अन्य पहाडी तथा हिमाली क्षेत्रमा हल्का वर्षा र हिमाली क्षेत्रमा हिमपातको सम्भावना रहेको छ।
यता सुदूरपश्चिम प्रदेश र लुम्बिनी प्रदेशका तराई क्षेत्रमा गर्मी बढ्ने सम्भावना रहेको महाशाखाले जनाएको छ। ती क्षेत्रमा तातो दिन हुने भएकाले सतर्कता अपनाउन आग्रह गरिएको छ।
आज राति पनि कोशी, मधेस, बागमती र गण्डकी प्रदेशमा सामान्य बदली रहनेछ। केही स्थानमा चट्याङसहित हल्का वर्षा तथा हिमपात हुन सक्ने पूर्वानुमान गरिएको छ।






