गृहमन्त्री अर्यालको निर्देशन : विपद् व्यवस्थापन प्रभावकारी बनाउँदै नागरिकसँगको सम्बन्ध सुदृढ गर्न आग्रह

User Image Prime TV News २ दिन अगाडि
Image of गृहमन्त्री अर्यालको निर्देशन : विपद् व्यवस्थापन प्रभावकारी बनाउँदै नागरिकसँगको सम्बन्ध सुदृढ गर्न आग्रह

काठमाडौ । गृहमन्त्री ओमप्रकाश अर्यालले बदलिंदो राष्ट्रिय परिस्थिति र संवेदनशील सुरक्षा अवस्थालाई मध्यनजर गर्दै विपद् व्यवस्थापनलाई थप प्रभावकारी बनाउन सम्बन्धित निकायलाई निर्देशन दिएका छन्।

गृह मन्त्रालयले आज आयोजना गरेको भर्चुअल मनसुनविपद् संवाद बैठकलाई सम्बोधन गर्दै गृहमन्त्री अर्यालले विपद् व्यवस्थापनका क्रममा सुशासन र सेवा प्रवाह निरन्तर रहनु पर्नेमा जोड दिए। साथै, विपद् प्रतिकार्यका माध्यमबाट नागरिकसँगको विश्वासिलो सम्बन्ध निर्माण गर्नुपर्ने आवश्यकता पनि उनले औंल्याए।

नेपालमा मनसुन सक्रिय भएसँगै असोज १७ देखि २० गतेसम्म कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा मध्यमदेखि अति भारी वर्षाको सम्भावना रहेको पूर्वानुमानपछि पूर्वतयारीका लागि बैठक आयोजना गरिएको हो।

बैठकमा गृहमन्त्रीको उपस्थितिसँगै गृहसचिव रामेश्वर दंगाल, गृह मन्त्रालयका उच्च अधिकारी, राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण, चारवटै सुरक्षा निकायका प्रमुख, ७७ वटै जिल्लाका प्रमुख जिल्ला अधिकारीहरू र जिल्ला सुरक्षा समितिका सदस्यहरू सहभागी थिए।

गृहमन्त्री अर्यालले सम्भावित प्राकृतिक प्रकोपहरूबाट नागरिकको जीवनरक्षा सुनिश्चित गर्न समन्वयात्मक र सक्रिय भूमिका निर्वाह गर्न सुरक्षा निकाय र प्रशासनलाई निर्देशन दिएका छन्।