अमेरिकाले इरानमाथि थप कडा प्रतिबन्ध लगायो

User Image Prime TV News ३३ मिनेट अगाडि
Image of अमेरिकाले इरानमाथि थप कडा प्रतिबन्ध लगायो

काठमाडौ । अमेरिकाले इरान माथि नयाँ आर्थिक प्रतिबन्ध घोषणा गरेको छ। अमेरिकाले इरानसँग सम्बन्धित वित्तीय सञ्जाल, कम्पनी र तेल ढुवानी गर्ने जहाजलाई निशाना बनाएको हो।

अमेरिकाका अनुसार इरानले अन्तर्राष्ट्रिय प्रतिबन्ध छल्दै अवैध रूपमा अर्बौं डलर आम्दानी गरिरहेको छ। सो रकम क्षेत्रीय प्रभाव बढाउन तथा प्रतिबन्धित गतिविधिमा प्रयोग भइरहेको आरोप अमेरिकाले लगाएको छ।

नयाँ प्रतिबन्धअन्तर्गत ५० भन्दा बढी कम्पनी, व्यक्ति र तेल ट्यांकर समावेश छन्। यो कारबाही अमेरिकी कोष विभागअन्तर्गतको विदेशी सम्पत्ति नियन्त्रण कार्यालय (ओएफएसी)ले घोषणाले घोषणा गरेको हो।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प नेतृत्वको प्रशासनले पश्चिम एसियामा बढ्दो तनावका बीच इरानमाथि थप दबाब दिन यस्तो कदम चालेको जनाएको छ।

अमेरिकी अर्थ मन्त्रालयका अनुसार प्रतिबन्ध मुख्य रूपमा इरानको विदेशी मुद्रा विनिमय कम्पनी ‘अमिन एक्सचेन्ज’ माथि केन्द्रित छ । संयुक्त अरब इमिरेट्स, टर्की, हङकङ र चीनमा सञ्चालन भइरहेका विभिन्न फ्रन्ट कम्पनीहरूमाथि पनि कारबाही गरिएको छ ।

यसैबीच अमेरिकाले १९ वटा जहाजमाथि पनि प्रतिबन्ध लगाएको छ। ती जहाजले इरानी तेल, एलपीजी र पेट्रोकेमिकल सामग्री विदेश पुर्‍याएको आरोप लगाइएको छ।

अमेरिकी अधिकारीहरूले इरानले विदेशी झण्डा प्रयोग गर्ने जहाजमार्फत अन्तर्राष्ट्रिय प्रतिबन्ध छल्ने प्रयास गरिरहेको दाबी गरेका छन्। यो निर्णयले विश्व तेल बजारमा समेत असर पर्न सक्ने अनुमान गरिएको छ।