चार दल एक ठाँउमा, संसद सञ्चालन शैलीप्रति असन्तुष्टि
Prime TV News एक महिना अगाडि 
काठमाडौ । प्रतिनिधिसभामा रहेका प्रमुख विपक्षी दलका प्रमुख सचेतकहरूबीच आइतबार सिंहदरबारमा भेटवार्ता भएको छ।
नेपाली कांग्रेस, नेकपा (एमाले), नेपाल कम्युनिस्ट पार्टी (नेकपा) र राष्ट्रिय प्रजातन्त्र पार्टीका नेताहरु बिच भएको हो । एमाले संसदीय दलको कार्यालयमा भएको छलफलमा संसदमा विपक्षी दलको भूमिकालाई प्रभावकारी रूपमा प्रस्तुत गर्न नदिइएको, सरकार पक्षले संसदीय अभ्यासलाई बेवास्ता गरेको तथा सभामुखको भूमिकामाथि उठिरहेका प्रश्नबारे छलफल भएको जनाइएको छ।
छलफलपछि सञ्चारकर्मीसँग कुरा गर्दै एमालेका प्रमुख सचेतक ऐन महरले सरकार संसदीय मूल्य र मान्यताविपरीत अघि बढिरहेको आरोप लगाए। उनले विपक्षी दलहरूको आवाजलाई दबाउने प्रयास भइरहेको भन्दै यसले लोकतान्त्रिक अभ्यासलाई कमजोर बनाउने बताए।
बैठकमा सहभागी नेताहरूले संविधानको कार्यान्वयन, प्रतिनिधिसभा नियमावलीको पालन तथा लोकतान्त्रिक प्रणालीको संरक्षणका लागि विपक्षी दलहरूबीच सहकार्य आवश्यक रहेको निष्कर्ष निकालेका छन्। आगामी दिनमा समेत साझा मुद्दामा निरन्तर समन्वय गर्दै जाने सहमति भएको बताइएको छ।
बैठकमा कांग्रेसकी प्रमुख सचेतक बासना थापा, एमालेका ऐन महर, नेकपाका युवराज दुलाल तथा राप्रपाकी खुश्बु ओली सहभागी थिए।







