शनिबारदेखि चार प्रदेशमा वर्षा र बाढीको सम्भावना, सतर्क रहन विभागको आग्रह

User Image Prime TV News २ दिन अगाडि
Image of शनिबारदेखि चार प्रदेशमा वर्षा र बाढीको सम्भावना, सतर्क रहन विभागको आग्रह

काठमाडौ । जल तथा मौसम विज्ञान विभागले शनिबार दिउँसोदेखि मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा वर्षा सुरु भई बाढीको जोखिम बढ्न सक्ने पूर्वानुमान गरेको छ। हालसम्म देशभरका प्रमुख नदीहरूको जलस्तर सामान्य र स्थिर रहेको विभागले जनाएको छ।

विभागका अनुसार शनिबार दिउँसोसम्म नदीहरूको अवस्था सामान्य रहने भए पनि त्यसपछि विभिन्न नदीमा पानीको बहाव क्रमशः बढ्न सक्नेछ।

शनिबार रातिदेखि नवलपरासी पूर्वपश्चिम, तनहुँ, लम्जुङ, गोरखा, धादिङ, चितवन, मकवानपुर, बारा, पर्सा, रौतहट, सर्लाही, काठमाडौं, भक्तपुर, ललितपुर, काभ्रे, सिन्धुली र आसपासका जिल्लाबाट बग्ने ससाना नदी तथा खोल्सामा आकस्मिक बाढीको जोखिम रहन सक्ने विभागले जनाएको छ।

यस्तै, आइतबार बिहानदेखि बेलुकासम्म नारायणी, कालीगण्डकी, सेती, मादी, मस्र्याङ्दी, दरौँदी, त्रिशूली, पूर्वी राप्ती, बागमती, कमला लगायतका नदी तथा तिनका सहायक नदीहरूमा पानीको बहाव उल्लेख्य रूपमा बढ्ने सम्भावना रहेको छ।

यी नदीहरूमा बहाव सतर्कता तहसम्म पुग्न सक्ने भएकाले प्रभावित क्षेत्रका बासिन्दालाई सचेत रहन आग्रह गरिएको छ।

विभागका अनुसार आइतबार रातिदेखि वर्षा प्रणाली पूर्वतर्फ सर्दै जाने भएकाले कोशी, कन्काई लगायतका पूर्वी नदी जलाधारमा समेत बहाव उल्लेख्य रूपमा बढ्न सक्छ।

संभावित बाढी, डुबान र पहिरोको जोखिमलाई ध्यानमा राख्दै विभागले उच्च सतर्कता अपनाउन, जोखिमयुक्त स्थानमा आवश्यक पूर्वतयारी गर्न तथा नदी आसपासको गतिविधिमा सावधानी अपनाउन सुझाव दिएको छ।