देशभर आंशिक बदली, केही स्थानमा वर्षा र बाढीको जोखिम

User Image Prime TV News एक महिना अगाडि
Image of देशभर आंशिक बदली, केही स्थानमा वर्षा र बाढीको जोखिम

काठमाडौं । देशभरको मौसम अहिले साधारणतया बदली रहेको छ भने पूर्वी र पश्चिमी क्षेत्रमा वर्षासँगै बाढीको जोखिमसमेत देखिएको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल मनसुनको न्यून चापीय रेखा पूर्वी नेपालमा सामान्यभन्दा दक्षिणतर्फ र पश्चिमतिर सरदर स्थानको आसपासमा रहेको छ, जसका कारण अधिकांश क्षेत्रमा बादल लाग्ने र केही ठाउँमा हल्कादेखि मध्यम वर्षा हुने देखिएको हो।

कोशी प्रदेशको तराई भूभाग, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका केही स्थानहरूमा वर्षा भइरहेको छ भने अन्य प्रदेशका थोरै भूभागमा समेत वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।

बाढी पूर्वानुमान महाशाखाका अनुसार कोशी, नारायणी, बागमती, कर्णाली, महाकाली नदी तथा तिनका सहायक नदीहरू र कन्काई, कमला, पूर्वी राप्ती, पश्चिम राप्ती, बबईजस्ता प्रमुख नदीहरूको बहाव हाल सतर्कता तहभन्दा तल रहेको छ।

धेरैजसो पहाडी र हिमाली जिल्लाहरूमा साना नदीहरूको बहाव उल्लेख्य रुपमा बढ्ने सम्भावना छ। विशेषगरी दोलखा, सिन्धुपाल्चोक, काभ्रे, काठमाडौं उपत्यका, गण्डकी आसपासका जिल्लाहरू हुँदै सुदूरपश्चिमका डडेलधुरा, दार्चुला, बाजुरा, अछाम, बझाङ, कैलाली, कञ्चनपुरलगायतका स्थानहरूमा आकस्मिक बाढीको उच्च जोखिम रहने अनुमान गरिएको छ।

त्यस्तै, इलाम, झापा, ताप्लेजुङ, रामेछाप, मकवानपुर, पाल्पा, गुल्मी, प्युठान, दाङ, नवलपरासी, जुम्ला, डोल्पा, हुम्लालगायतका जिल्लाहरूमा पनि साना नदीहरूको बहाव मध्यम स्तरमा बढ्न सक्ने र आकस्मिक बाढीको सम्भावना मध्यम रहेको जनाइएको छ।

संबद्ध निकायहरूले सतर्क रहन र आवश्यक सावधानी अपनाउन आग्रह गरेका छन्। पहिरो र बाढीको जोखिम रहेका क्षेत्रका बासिन्दालाई सचेत रहन तथा स्थानीय प्रशासनको निर्देशन पालना गर्न पनि अनुरोध गरिएको छ।