ईयू प्रतिनिधिमण्डलले प्रधानमन्त्री बालेनसँग भेट्ने, सहकार्य विस्तारमा जोड
Prime TV News एक महिना अगाडि 
काठमाडौ । युरोपेली संघ (ईयू) को उच्चस्तरीय प्रतिनिधिमण्डलले प्रधानमन्त्री बालेन्द्र शाह सँग सामूहिक भेट गर्ने भएको छ। ईयूका लागि नेपालस्थित राजदूत भेरोनिक लोरेन्जोको नेतृत्वमा आएको प्रतिनिधिमण्डल मंगलबार प्रधानमन्त्रीलाई भेट्ने कार्यक्रम तय गरिएको छ।
प्रतिनिधिमण्डलमा ईयू सदस्य राष्ट्रका २२ जना राजदूत तथा उप–मिसन प्रमुखहरू सहभागी छन्। टोलीमा अस्ट्रिया, बेल्जियम, फ्रान्स, जर्मनी, इटाली, नेदरल्यान्ड्स, स्पेन, स्विडेनलगायत देशका कूटनीतिज्ञहरू रहेका छन्।
ईयूले जारी गरेको विज्ञप्तिअनुसार यो भ्रमण नेपालसँगको सम्बन्ध पुनः पुष्टि गर्ने र सहकार्यका नयाँ अवसर खोज्ने उद्देश्यले गरिएको हो। भेटका क्रममा व्यापार, लगानी, जलवायु परिवर्तन, विकास सहयोग तथा बहुपक्षीय मुद्दा प्रमुख छलफलका विषय हुने अपेक्षा गरिएको छ।
टोलीले यसअघि सोमबार विभिन्न मन्त्रीहरू, निजी क्षेत्रका प्रतिनिधि, नागरिक समाजका अगुवा तथा युवा नेताहरूसँग पनि भेट गरेको थियो। ईयू प्रतिनिधिमण्डलले नेपालसँग दिगो, समावेशी र समृद्ध भविष्य निर्माणमा सहकार्य गर्न तयार रहेको जनाएको छ।







