देशभर मनसुनी वायूको प्रभाव, धेरै ठाउँमा भारी वर्षाको सम्भावना

User Image Prime TV News एक दिन अगाडि
Image of देशभर मनसुनी वायूको प्रभाव, धेरै ठाउँमा भारी वर्षाको सम्भावना

काठमाडौ । बङ्गालको खाडीबाट आएको जलवाष्प युक्त मनसुनी वायूको प्रभावका कारण देशभरको मौसम प्रभावित बनेको छ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार शनिबार दिउँसो देशभर साधारणतया बदली रहनेछ भने कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी तथा तराई भूभागका धेरै स्थानहरूमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षाको सम्भावना रहेको छ।

यस्तै, बाँकी प्रदेशका केही स्थानहरूमा पनि वर्षा हुने पूर्वानुमान गरिएको छ।

महाशाखाले दिएको जानकारी अनुसार कोशी, मधेश, बागमती र गण्डकी प्रदेशका पहाडी तथा तराई क्षेत्रका थोरै स्थानहरूमा र लुम्बिनी प्रदेशका केही तराई क्षेत्रहरूमा भारी वर्षा हुन सक्ने सम्भावना छ।

विशेषगरी मधेश, बागमती र गण्डकी प्रदेशका केही स्थानहरूमा धेरै भारी वर्षा हुने सम्भावना रहेकाले सतर्क रहन आग्रह गरिएको छ। शनिबार राति पनि यी प्रदेशमा अधिकांश स्थानमा बदली रही वर्षा जारी रहने देखिएको छ।

रातिको समयमा पनि कोशी, मधेश, बागमती र गण्डकीका पहाडी तथा तराई क्षेत्रहरूमा मेघगर्जनसहितको मध्यम वर्षा हुने सम्भावना रहेको छ भने केही स्थानमा भारीदेखि धेरै भारी वर्षा पर्न सक्ने महाशाखाको अनुमान छ।

यस्तै, लुम्बिनी प्रदेशका धेरै स्थानहरू र अन्य केही प्रदेशका विभिन्न भूभागहरूमा पनि वर्षा हुने देखिएको छ। लगातार वर्षाका कारण बाढी, पहिरो तथा जलमग्नता हुन सक्ने जोखिम बढेकाले स्थानीय तह र नागरिकहरूलाई सतर्कता अपनाउन अनुरोध गरिएको छ।