टीका थाप्ने क्रम अझै जारी, कोजाग्रत पूर्णिमासम्म मनाइने दशैँ

User Image Prime TV News एक दिन अगाडि
Image of टीका थाप्ने क्रम अझै जारी, कोजाग्रत पूर्णिमासम्म मनाइने दशैँ

काठमाडौ । आश्विन शुक्ल द्वादशीमा समेत नेपालीहरूबीच दशैँको टीका थाप्ने चहलपहल जारी छ। विजयादशमीका दिन नवदुर्गाको प्रसादस्वरूप टीका थाप्ने परम्परा सुरु भएपछिको यो क्रम अझै पनि चलिरहेको छ।

नवदुर्गाको नवाह्रात्र अर्थात् नौरथभरि पूजा आराधना गरी देवी विसर्जन गरिएपछि विजयादशमीका दिनदेखि टीका थाप्ने र आशीर्वाद लिने चलन सुरु हुन्छ।

तर, समय अभावका कारण विजयादशमीमै टीका लगाउन नसक्नेहरू एकादशी, द्वादशी हुँदै कोजाग्रत पूर्णिमासम्म मान्यजनकामा गई टीका र आशीर्वाद लिने गर्दछन्।

पश्चिम नेपालका केही जिल्लामा भने विजयादशमीकै दिन टीका लगाउने र आशीर्वाद थाप्ने परम्परा मात्र रहेको छ। तर काठमाडौं उपत्यकासहित पूर्वी नेपालका अधिकांश भागहरूमा दशैँ कोजाग्रत पूर्णिमासम्म मनाइन्छ।

संघीय राजधानी काठमाडौंलगायत देशभरका विभिन्न ठाउँमा अझै पनि आफन्त, इष्टमित्रकहाँ पुगेर टीका र जमरा थाप्ने क्रम जारी रहेको देखिन्छ। सामाजिक सद्भाव, पारिवारिक पुनर्मिलन र सांस्कृतिक जगेर्नाका रूपमा मनाइने दशैँले नेपाली समाजमा विशेष स्थान ओगटेको छ।