अमेरिकामा सरकार बन्द: बजेट पारित नहुँदा लाखौं कर्मचारी प्रभावित


काठमाडौ । अमेरिकामा बजेट पारित हुन नसक्दा संघीय सरकार दोस्रो दिनसम्म पनि बन्द रहेको छ। यसका कारण करिब साढे सात लाख सरकारी कर्मचारीहरू प्रभावित भएका छन्।
जसमा झन्डै तीन लाखको जागिर कटौती वा अनिश्चित बिदाको सम्भावना रहेको छ। सरकारी सेवाहरूको अधिकांश हिस्सा ठप्प भएपछि देशभरि अन्योल छाएको छ।
बजेट विवादको केन्द्रमा राष्ट्रपति डोनाल्ड ट्रम्पको आप्रवासन केन्द्रित नीति र डेमोक्र्याट्सको स्वास्थ्य तथा सामाजिक सेवामा बजेट बढाउने माग रहेको छ।
दुई पक्षबीच सम्झौता नजुट्दा फन्डिङ बिल सिनेटमा दुईपटक असफल भयो। बुधबारको मतदानमा समर्थनमा ५५ र विपक्षमा ४५ मत परे पनि पास हुन न्यूनतम ६० मत आवश्यक थियो। यसअघि मंगलबार पनि प्रस्ताव अस्वीकृत भएपछि शटडाउन सुरु भएको हो।
शटडाउनका कारण कृषि, श्रम, पशु चिकित्सा, पर्यावरण संरक्षण, राष्ट्रिय स्वास्थ्य संस्थानलगायतका कैयौं संघीय निकाय बन्द भएका छन्।
यद्यपि, सीमा सुरक्षा, हवाई यातायात नियन्त्रण, र आपत्कालीन स्वास्थ्य सेवाहरू भने जारी छन्। सरकारी तलब नपाएर काम गर्न बाध्य कर्मचारीहरू सामाजिक सञ्जाल र विरोधमार्फत आफ्ना गुनासा सार्वजनिक गरिरहेका छन्।
राष्ट्रपति ट्रम्पले शटडाउनको दोष डेमोक्र्याट्सलाई दिएका छन्, भने विपक्षी नेताहरूले ट्रम्पको "एकपक्षीय नीति" र वार्ता गर्न असफल नेतृत्वलाई जिम्मेवार ठहराएका छन्।
यसैबीच, ट्रम्प आफ्ना समर्थकहरूसँग सामाजिक सञ्जालमा सक्रिय देखिएका छन्। उनले आप्रवासीविरुद्ध कडा नीति अपनाउने संकेत गर्दै आलोचकहरूलाई प्रहार गरेका छन्।
सरकारी वेबसाइटहरूमा समेत डेमोक्र्याट्सलाई दोष दिने सन्देश देखिन थालेपछि यसलाई राजनीतिकरण गरिएको भन्दै आलोचना चुलिएको छ।
सटडाउन लम्बिए अर्थतन्त्रमा नकारात्मक असर पर्ने चेतावनी विज्ञहरूले दिइरहेका छन्। सन् २०१९ मा भएको ३५ दिने शटडाउनले करिब २५ अर्ब डलर बराबरको घाटा बेहोर्नुपरेको थियो।
हालको स्थितिलाई पनि त्यसैगरी गम्भीर रूपमा हेरिएको छ। केही दिनमै तलब रोकिएर सामान्य जनजीवनमा असर पर्न सक्ने अनुमान गरिएको छ।
शुक्रबार फेरि फन्डिङ बिलमाथि मतदान गरिने तयारी छ। रिपब्लिकनहरूले बिल पुनः पेश गर्ने घोषणा गरेका छन्, तर विपक्षीको समर्थनबिना प्रस्ताव पास हुने सम्भावना न्यून छ।