सुकुमवासी व्यवस्थापनको माग गर्दै काठमाडौंमा प्रदर्शन
Prime TV News १ हप्ता अगाडि 
काठमाडौ । सुकुमवासी व्यवस्थापनको माग गर्दै काठमाडौंमा प्रदर्शन गरिएको छ। संयुक्त राष्ट्रिय सुकुमवासी मोर्चा नेपालको अगुवाइमा माइतीघर मण्डलादेखि नयाँ बानेश्वरसम्म सिटी बजाउँदै प्रदर्शन गरिएको हो।
प्रदर्शनमा सहभागीहरूले सुकुमवासी र अव्यवस्थित बसोवासीलाई विकल्पविना हटाइएको भन्दै आपत्ति जनाएका छन्। उनीहरूले सरकारसँग तत्काल उचित व्यवस्थापन र सुरक्षित पुनर्वासको व्यवस्था गर्न माग गरेका छन्।
प्रदर्शनकारीहरूले सिटी फुक्दै विभिन्न माग लेखिएका प्लेकार्ड बोकेका थिए। उनीहरूले सुरक्षित आवास, जग्गा व्यवस्थापन र दीर्घकालीन समाधानको माग गर्दै नाराबाजी पनि गरेका थिए। आन्दोलनकारीका अनुसार पटक–पटक सरकारसँग वार्ता भए पनि समस्या समाधान नभएकाले सडकमा उत्रिन बाध्य भएको बताएका छन्।
उनीहरूले सुकुमवासीको अधिकार सुनिश्चित गर्न सरकारले ठोस कदम चाल्नुपर्ने माग गरेका छन्। प्रदर्शन माइतीघरबाट सुरु भई नयाँ बानेश्वरसम्म पुगेको थियो। कार्यक्रम शान्तिपूर्ण रूपमा सम्पन्न भएको आयोजकले जनाएका छन्।







