देशभर मौसम बदली, चट्याङ र हावाहुरीको जोखिम बढ्यो

User Image Prime TV News एक महिना अगाडि
Image of देशभर मौसम बदली, चट्याङ र हावाहुरीको जोखिम बढ्यो

काठमाडौ । नेपालमा अहिले पश्चिमी न्यून चापीय प्रणाली, स्थानीय वायु तथा देश नजिक फैलिएको न्यून चापीय रेखाको संयुक्त प्रभाव देखिएको छ। यसको असरले देशका अधिकांश क्षेत्रमा मौसम बदली भएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

हाल कोशी, मधेस, बागमती र गण्डकी प्रदेशमा पूर्णतया बदली रहेको छ भने लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली तथा पहाडी क्षेत्रमा सामान्यदेखि पूर्ण बदली छ। केही स्थानमा मध्यम वर्षा समेत भइरहेको छ।

महाशाखाका अनुसार आज दिउँसो देशभर सामान्यदेखि पूर्ण बदली रहनेछ। विशेषगरी कोशी, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी तथा हिमाली भूभागमा चट्याङसहित वर्षाको सम्भावना रहेको छ। मधेससहित केही तराई क्षेत्रमा पनि पानी पर्न सक्ने अनुमान गरिएको छ।

यस्तै, तराई र पहाडी भूभागका केही स्थानमा हावाहुरी चल्न सक्ने चेतावनी दिइएको छ। मौसम खराब बनेसँगै दैनिक जनजीवन, सडक यातायात र हवाई उडान प्रभावित हुन सक्ने देखिएको छ।

आज राति पनि सुदूरपश्चिमसहित पहाडी र हिमाली क्षेत्रमा बदली कायम रहनेछ। केही स्थानमा हल्का वर्षा जारी रहने मौसमविद्ले बताएका छन् ।