चुनाव केन्द्रित एमालेको देशव्यापी जागरण अभियान सुरु
Prime TV News ६ दिन अगाडि 
काठमाडौ । नेकपा एमालेले आगामी स्थानीय तथा प्रदेश निर्वाचनलाई लक्षित गर्दै देशव्यापी ‘पार्टी जागरण अभियान’ सुरु गरेको छ।
पार्टीले केन्द्रीय नेताहरुलाई प्रत्यक्ष रूपमा पालिका तहमा खटाएर संगठन विस्तार र कार्यकर्ता परिचालन तीव्र बनाउने रणनीति अघि सारेको हो।
एमालेले केन्द्रीय सदस्यहरूलाई आफूले प्रतिनिधित्व गर्ने जिल्लाका पालिकामा केन्द्रित भएर अभियान सञ्चालन गर्न निर्देशन दिएको जनाएको छ। जिल्ला इन्चार्जहरूलाई समेत पालिका स्तरको कार्यक्रममा अनिवार्य रूपमा सहभागी गराइएको छ।
पार्टी स्रोतका अनुसार एक जना केन्द्रीय सदस्यलाई बढीमा दुईवटा पालिकाको जिम्मेवारी दिइएको छ। उनीहरूलाई गाउँ–गाउँ पुगेर संगठन सुदृढ गर्ने, कार्यकर्तालाई सक्रिय बनाउने र जनतासँग प्रत्यक्ष संवाद बढाउने जिम्मेवारी दिइएको छ।
एमालेले केन्द्रीय सदस्य मात्र पर्याप्त नहुने निष्कर्ष निकाल्दै केन्द्रीय निकायका सदस्य तथा अनुभवी कार्यकर्तालाई समेत अभियानमा खटाएको छ। पार्टीले यो अभियानलाई निर्वाचन तयारीको मुख्य आधारका रूपमा अगाडि बढाएको देखिन्छ।
नयाँ कार्यविभाजन अनुसार पार्टी अध्यक्षले समग्र अभियानको नेतृत्व गर्नेछन् भने महासचिवलाई संगठनात्मक कामको संयोजन तथा केन्द्रीय कार्यालय सञ्चालनको जिम्मेवारी दिइएको छ। उपाध्यक्ष र उपमहासचिवहरूलाई विभिन्न विभाग तथा फाँटको जिम्मेवारी बाँडफाँट गरिएको छ।
यस्तै, हिक्मत कार्कीलाई विपद् व्यवस्थापन तथा स्वयंसेवा विभाग प्रमुखको जिम्मेवारी दिइएको छ भने पद्मा अर्याललाई संसदीय मामिला प्रमुख र भानुभक्त ढकाललाई संगठन विभाग प्रमुख बनाइएको छ।
त्यसैगरी छविलाल विश्वकर्मालाई लुम्बिनी, खगराज अधिकारीलाई गण्डकी, यमलाल कँडेललाई कर्णाली, शेरधन राईलाई कोशी, राजन भट्टराईलाई राजधानी विशेष प्रदेश तथा महेश बस्नेतलाई बागमती प्रदेश इन्चार्जको जिम्मेवारी तोकिएको छ।







