मन्त्री घिसिङद्वारा सडक र मौसमको अवस्थाबारे उच्चस्तरीय बैठक, विपद् न्यूनीकरणमा सरकार गम्भीर

User Image Prime TV News एक दिन अगाडि
Image of मन्त्री घिसिङद्वारा सडक र मौसमको अवस्थाबारे उच्चस्तरीय बैठक, विपद् न्यूनीकरणमा सरकार गम्भीर

काठमाडौ । हाल देशभर जारी लगातारको वर्षा र त्यसबाट उत्पन्न हुन सक्ने विपद् जोखिमलाई ध्यानमा राख्दै ऊर्जा, जलस्रोत तथा सिंचाइ, भौतिक पूर्वाधार तथा यातायात र शहरी विकास मन्त्री कुलमान घिसिङले सम्बन्धित विभागीय प्रमुखहरूसँग आकस्मिक बैठक आह्वान गरेका छन्।

आज बिहान ११ बजे मन्त्रालयमा बोलाइएको बैठकमा सडक सुरक्षासँगै सम्भावित बाढी, पहिरो र डुबानबाट जनधनको क्षति कसरी न्यूनिकरण गर्न सकिन्छ भन्ने विषयमा गम्भीर छलफल हुने मन्त्रीको सचिवालयले जनाएको छ।

मौसमविद्हरूका अनुसार आगामी दिनहरूमा अझै पानी पर्ने सम्भावना उच्च रहेको छ, जसले गर्दा पहाडी तथा तराई क्षेत्रका कतिपय भागमा विपद् जोखिम बढ्नसक्ने अनुमान गरिएको छ।

यस्तो अवस्थामा सरकारले पहिरो जाने सम्भावित स्थानहरूमा मेसिन तथा उपकरण तयारी अवस्थामा राख्ने, जोखिमयुक्त बस्तीहरूलाई सुरक्षित स्थानमा स्थानान्तरण गर्ने र अत्यावश्यकबाहेकका यात्रामा रोक लगाउने निर्णय गरिसकेको छ।

यिनै निर्णयहरूको कार्यान्वयन अवस्थाबारे समीक्षा गर्न तथा थप आवश्यक निर्देशन दिन मन्त्री घिसिङले बैठक आह्वान गरेका हुन्।

सरकारको यो सक्रियता विपद् न्यूनीकरणतर्फको गम्भीर प्रतिबद्धताको संकेत हो। नागरिकहरूलाई पनि अत्यावश्यक काम बाहेक यात्रा नगर्न, सरकारी निर्देशनहरू पालना गर्न र जोखिमयुक्त स्थानहरूबाट सुरक्षित बसोबासमा सर्न आग्रह गरिएको छ।