पीएसजीले लगातार दोस्रोपटक यूईएफए च्याम्पियन्स लिगको उपाधि जित्यो
Prime TV News एक महिना अगाडि 
काठमाडौ ।पेनाल्टी सुटआउटमा इंग्लिस क्लब आर्सनललाई ४–३ ले पराजित गर्दै फ्रान्सको पेरिस सेन्ट–जर्मेन (पीएसजी) ले लगातार दोस्रोपटक यूईएफए च्याम्पियन्स लिगको उपाधि जितेको छ ।
शनिबार हंगेरीको पुस्कास एरेनामा सम्पन्न फाइनलको निर्धारित र अतिरिक्त समय १–१ गोलको बराबरीमा सकिएपछि विजेताको टुंगो पेनाल्टी सुटआउटबाट लगाइएको हो ।
पेनाल्टीमा पीएसजीका लुकास बेराल्डो, अचरफ हाकिमी, डेसिरे डुए र गोन्सालो रामोसले गोल गरे । नुनो मेन्डिसको प्रहार भने गोलमा परिणत हुन सकेन ।
आर्सनलका गाब्रियल मार्टिनेज, डेक्लान राइस र भिक्टर ग्योकेरेसले गोल गरे । गाब्रियल म्यागाल्हेस र एबेरेची एजे भने चुके । त्यसअघि खेलको छैटौँ मिनेटमै काइ हाभर्ट्जको गोलमार्फत आर्सनलले अग्रता लिएको थियो । ६४औँ मिनेटमा ओस्माने डेम्बेलेले पेनाल्टीमा गोल गर्दै पीएसजीलाई बराबरीमा ल्याएका थिए ।
यस जितसँगै पीएसजी सन् २०१६ देखि २०१८ सम्म लगातार तीनपटक उपाधि जितेको रियाल मड्रिडपछि च्याम्पियन्स लिगको उपाधि रक्षा गर्ने पहिलो क्लब बनेको छ । २० वर्षपछि च्याम्पियन्स लिग फाइनलमा पुगेको आर्सनल पहिलो उपाधि जित्न भने वञ्चित रह्यो ।







