देशका धेरै ठाउँमा वर्षा र हुरीको सम्भावना
Prime TV News ४ दिन अगाडि 
काठमाडौ । जल तथा मौसम पूर्वानुमान महाशाखाले आज देशका विभिन्न ठाउँमा वर्षा, चट्याङ र हुरी चल्ने सम्भावना रहेको जनाएको छ।
महाशाखाका अनुसार पश्चिमी वायु, स्थानीय वायु र नेपाल नजिक सक्रिय न्यून चापीय प्रणालीका कारण मौसम बदली भएको हो।
हाल गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका धेरै ठाउँमा बदली रहेको छ। लुम्बिनी प्रदेशका केही स्थानमा मध्यम वर्षा भइरहेको छ भने गण्डकी र कर्णालीका केही ठाउँमा हल्का वर्षा भइरहेको छ।
आज दिउँसो हिमाली र पहाडी क्षेत्रका केही स्थानमा मेघगर्जन र चट्याङसहित वर्षा हुन सक्ने मौसमविद्ले बताएका छन्। तराईका केही ठाउँमा पनि वर्षाको सम्भावना रहेको छ।
महाशाखाले रातिको समयमा पनि केही क्षेत्रमा वर्षा र हिमपात हुन सक्ने जनाएको छ। विशेषगरी लुम्बिनी प्रदेशको तराई क्षेत्रमा हुरी चल्न सक्ने भएकाले सतर्क रहन आग्रह गरिएको छ।







