सुनको मूल्य एकैदिन २० हजार ५०० रुपैयाँ बढ्यो
Prime TV News एक महिना अगाडि 
काठमाडौ । नेपाली बजारमा आज सुनको मूल्य एकैदिन २० हजार ५०० रुपैयाँले बढेको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुनको मूल्य प्रतितोला ३ लाख ११ हजार १०० रुपैयाँ पुगेको छ। यसअघि जेठ १५ गते सुन प्रतितोला २ लाख ९० हजार ६०० रुपैयाँमा कारोबार भएको थियो।
सरकारले आगामी आर्थिक वर्षका लागि सुनको भन्सार दर १० प्रतिशतले बढाउने घोषणा गरेपछि त्यसको असर सुनको मूल्यमा देखिएको हो। आज १० ग्राम सुनको मूल्य २ लाख ६६ हजार ७२० रुपैयाँ कायम भएको छ। दुई दिनअघि १० ग्राम सुन २ लाख ४९ हजार १४० रुपैयाँमा कारोबार भएको थियो।
सुनसँगै चाँदीको मूल्य पनि बढेको छ। आज चाँदी प्रतितोला ५ हजार ३४५ रुपैयाँ पुगेको छ। जेठ १५ गते चाँदीको मूल्य प्रतितोला ५ हजार ४० रुपैयाँ थियो। महासंघका अनुसार आज १० ग्राम चाँदीको मूल्य ४ हजार ५८३ रुपैयाँ तोकिएको छ।
भन्सार दर बढेसँगै सुनचाँदीको मूल्यमा वृद्धि भएको व्यवसायीहरू बताउँछन्।







