विद्युतमा लगाइएको ५ प्रतिशत भ्याट पूर्वाधार सुधारका लागि प्रयोग हुने प्रधानमन्त्रीको भनाइ

User Image Prime TV News ४ दिन अगाडि
Image of विद्युतमा लगाइएको ५ प्रतिशत भ्याट पूर्वाधार सुधारका लागि प्रयोग हुने प्रधानमन्त्रीको भनाइ

काठमाडौ । प्रधानमन्त्री बालेन्द्र शाहले विद्युतमा लगाइएको ५ प्रतिशत भ्याट विद्युत क्षेत्रको क्षमता विकासका लागि प्रयोग हुने बताएका छन्।

आइतबार प्रतिनिधिसभा बैठकको प्रश्नोत्तर कार्यक्रममा राप्रपा सांसद खुश्बु ओलीले सोधेको प्रश्नको जवाफ दिँदै उनले यस्तो बताएका हुन्। सरकारले हालै बजेटमार्फत ५० युनिटभन्दा बढी विद्युत प्रयोगमा ५ प्रतिशत भ्याट लगाउने निर्णय गरेको छ।

प्रधानमन्त्री शाहका अनुसार अहिले नै देश पूर्ण रूपमा विद्युतमा आधारित प्रणालीमा जान सक्ने अवस्था छैन। धेरै घरमा इन्डक्सन चुलो प्रयोग बढे विद्युत प्रणालीमा समस्या आउन सक्ने उनले बताए। उनले ट्रान्सफर्मर, प्रसारण लाइन र सबस्टेशन सुधार गर्न ठूलो लगानी आवश्यक पर्ने भएकाले सोही खर्च जुटाउन भ्याट लगाइएको बताए। सरकारले विद्युत पूर्वाधार सुधार गर्दै देशलाई क्रमशः विद्युतीय युगतर्फ लैजाने योजना बनाएको उनले जानकारी दिए।

प्रधानमन्त्री शाहले भने ‘अहिले के छ भन्दा साँच्चै हामी विद्युतीय युगमा तुरून्तै जान सकिने अवस्था छैन। हरेक किचेनमा अहिले नै बिजुलीको प्रयोग हुने इन्डक्सनबाट पकाउन थाल्ने हो भने देशमा भएका सबै ट्रान्सफर्मर नै पड्किन्छन्, त्यसको क्षमता नै छैन,’ उनले भने, ‘त्यो क्षमता विकास गर्न पैसा चाहिन्छ, त्यही पैसाका लागि ५० युनिट भन्दा माथिको ५ प्रतिशत भ्याट लगाउने कुरा अस्ती अर्थमन्त्रीज्यूले अस्ती भन्नुभएको छ। त्यो भनेको धेरै होइन, १०० रुपैयाँमा ५ रुपैयाँ हो। त्यो पैसा देशभर ट्रान्फर्मरलाई अपग्रेड गर्नुपर्छ। ट्रान्समिशन लाइनको मोटाइलाई अपग्रेड गर्नुपर्छ। सबस्टेशनलाई अपग्रेड गर्नुपर्नेछ। अनि बल्ल हामी विद्युतीय युगमा जान सक्छौं। त्यसका लागि नेपाल सरकार अग्रसर छ।’