बजेटले मात्र आर्थिक वृद्धि हुँदैन : अर्थमन्त्री
Prime TV News ४ दिन अगाडि 
काठमाडौ । अर्थमन्त्री स्वर्णिम वाग्लेले २० खर्ब रुपैयाँको सरकारी बजेटले मात्रै देशको आर्थिक वृद्धि सम्भव नहुने बताएका छन्।
आइतबार अर्थ मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा उनले नेपालको कुल अर्थतन्त्र करिब ७० खर्ब रुपैयाँको रहेको भन्दै बजेटलाई मात्र आर्थिक वृद्धिको आधार मान्न नहुने बताए। उनका अनुसार सरकारले खर्च गर्ने बजेटले सडक, विद्युत्, शान्ति–सुरक्षा र अन्य आधारभूत सेवा सुधार गर्न मद्दत गर्छ।
‘सरकारको २० खर्ब रुपैयाँको बजेटले अर्थतन्त्रलाई सहजीकरण गर्ने हो, अर्थतन्त्र आफैं भने झन्डै ७० खर्ब रुपैयाँको छ । बजेट निर्माणका क्रममा हामीले सधैं २० खर्बको बजेटलाई होइन, ७० खर्बको समग्र अर्थतन्त्रलाई केन्द्रमा राखेका थियौं । यो बुझ्न आवश्यक छ कि २० खर्ब रुपैयाँले एक्लै अर्थतन्त्र चलाउने होइन, बरु ७० खर्बको अर्थतन्त्रलाई गतिशील बनाउने काम गर्ने हो,’ अर्थमन्त्री वाग्लेले भने ।
यसले निजी क्षेत्रको विश्वास बढाउँछ र लगानी आकर्षित गर्छ। अर्थमन्त्री वाग्लेले सरकारको लक्ष्य आगामी सात वर्षभित्र नेपालको अर्थतन्त्रलाई १५० खर्ब रुपैयाँसम्म पुर्याउने रहेको जानकारी दिए। उनले सरकार आफैंले सबै क्षेत्रमा लगानी गर्नेभन्दा निजी क्षेत्रलाई काम गर्ने वातावरण बनाउने नीतिमा रहेको पनि बताए।
‘केही राजनीतिक नेताहरूमा बजेट खर्च नै आर्थिक वृद्धिको मुख्य आधार हो भन्ने भ्रम देखिएको छ, तर वास्तविकता त्यस्तो होइन । सरकारले गर्ने २० खर्ब रुपैयाँको खर्च अर्थतन्त्रमा आवश्यक प्रारम्भिक ऊर्जा वा सहजीकरण प्रदान गर्ने माध्यम मात्र हो,’ वाग्लेले भने, ‘सरकारले बनाएको सडक, उत्पादन गरेको विद्युत्, सुनिश्चित गरेको शान्ति–सुरक्षा र प्रभावकारी न्याय प्रणालीका कारण निजी क्षेत्रको आत्मविश्वास बढ्छ । त्यसले निजी लगानीलाई आकर्षित गर्छ र निजी क्षेत्रको सक्रियता विस्तार हुन्छ ।’







