प्रधानमन्त्री बालेनका दुई अभिव्यक्तिमाथि संसदमा प्रश्न
Prime TV News ४ दिन अगाडि 
काठमाडौ । प्रधानमन्त्री बालेन्द्र शाहले प्रतिनिधिसभामा दिएको दुई अभिव्यक्तिमाथि सांसदहरूले प्रश्न उठाएका छन्।
आइतबार सांसदहरूको प्रश्नको जवाफ दिने क्रममा प्रधानमन्त्री शाहले “भारतले मात्र होइन, नेपालले पनि भारतको भूमि धेरै ठाउँमा मिचेको रहेछ” भनेका थिए। उनको यो भनाइपछि विभिन्न दलका सांसदहरूले आपत्ति जनाएका छन्।
नेपाली कांग्रेसकी सांसद वासना थापाले नेपालले भारतको भूमि कहाँ मिचेको हो भन्ने स्पष्ट पार्न माग गरिन्। उनले तथ्यबिना यस्तो अभिव्यक्ति दिनु उचित नभएको भन्दै उक्त भनाइ संसदको रेकर्डबाट हटाउनुपर्ने बताइन्।
त्यस्तै एमालेका भूमिका लिम्बु, नेकपाका युवराज दुलाल लगायत सांसदहरूले पनि प्रधानमन्त्रीको भनाइमाथि प्रश्न उठाए। यसैबीच, चीनको विकास अवस्थाबारे बोल्ने क्रममा प्रधानमन्त्रीले चीन हालै मात्र विकासशील देशबाट विकसित देशमा पुगेको बताएका थिए।
तर सांसद खुश्बु ओली ले चीनलाई अझै पनि अन्तर्राष्ट्रिय रूपमा विकासशील देशकै रूपमा मान्यता दिइएको भन्दै प्रधानमन्त्रीको भनाइ तथ्यसँग नमिलेको बताइन्। प्रधानमन्त्रीका यी अभिव्यक्तिलाई लिएर संसदमा बहस र आलोचना भइरहेको छ।







