विधुतमा भ्याट लगाउने निर्णय यथावत् रहने
Prime TV News ४ दिन अगाडि 
काठमाडौ । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले विधुतमा भ्याट लगाउने सरकारी निर्णय यथावत् रहने बताएका छन्। उनले उपभोक्तालाई अतिरिक्त भार नपर्ने गरी आवश्यक व्यवस्था मिलाइने पनि स्पष्ट पारे।
नेपाल आर्थिक पत्रकार संघ (नाफिज) ले आयोजना गरेको बजेटपछिको छलफल कार्यक्रममा बोल्दै उनले विद्युत्मा भ्याट लागू गर्ने विषयमा सरकार पछि नहट्ने बताए। उनका अनुसार आगामी साउनदेखि नै उपभोक्तामैत्री विकल्प कार्यान्वयनमा ल्याइनेछ।
सरकारले आगामी आर्थिक वर्षको बजेटमार्फत ५० युनिटभन्दा बढी विद्युत् खपत गर्ने उपभोक्तालाई करको दायरामा ल्याउने व्यवस्था गरेको छ। यस निर्णयको विभिन्न क्षेत्रबाट आलोचना भइरहेका बेला अर्थमन्त्रीले यसको आवश्यकता रहेको बताएका हुन्।
उनले विगतमा पनि विद्युत्मा भ्याट लगाउने विषय उठे पनि कार्यान्वयन हुन नसकेको उल्लेख गर्दै अहिले सरकारले आवश्यक निर्णय गरेको बताए। अर्थमन्त्री वाग्लेले सरकारले उपभोगमा आधारित कर प्रणालीलाई प्राथमिकता दिएको र यसले राजस्व प्रणालीलाई थप व्यवस्थित बनाउन सहयोग गर्ने विश्वास व्यक्त गरे।
उनका अनुसार बजेटले तत्कालका कार्यक्रम मात्र होइन, आगामी पाँच वर्षका लागि आर्थिक विकासको आधार तयार गर्ने लक्ष्य लिएको छ। सरकार अर्थतन्त्रलाई बलियो बनाउने उद्देश्यका साथ अघि बढिरहेको उनले बताए।







