प्रधानमन्त्रीको भनाइ सच्याउन नेकपाको माग
Prime TV News ४ दिन अगाडि 
काठमाडौ । नेपाली कम्युनिष्ट पार्टीले प्रधानमन्त्री बालेन शाहको हालैको अभिव्यक्तिप्रति आपत्ति जनाउँदै उक्त भनाइ सच्याउन माग गरेको छ।
पार्टीका प्रवक्ता प्रकाश ज्वालाले सोमबार विज्ञप्ति जारी गर्दै प्रधानमन्त्रीले संसदमा दिएको सीमा सम्बन्धी अभिव्यक्ति राष्ट्रिय हितविपरीत रहेको बताएका छन्। प्रधानमन्त्री शाहले आइतबार संसदमा बोल्ने क्रममा नेपालले पनि केही ठाउँमा भारतको भूमि मिचेको कुरा आफू प्रधानमन्त्री भएपछि थाहा पाएको बताएका थिए। यही अभिव्यक्तिलाई लिएर नेकपाले विरोध जनाएको हो।
नेकपाले नेपाल–भारत सीमा विवाद संवेदनशील विषय भएकाले जिम्मेवार पदमा बसेका व्यक्तिले तथ्यका आधारमा मात्र धारणा राख्नुपर्ने जनाएको छ। पार्टीले नेपालले भारतको कुनै भूभाग कब्जा नगरेको दाबी दोहोर्याएको छ।
विज्ञप्तिमा सीमा क्षेत्रमा हुने जग्गाको भोगचलन र भूमि अतिक्रमण फरक विषय भएको उल्लेख गरिएको छ। सीमावर्ती क्षेत्रमा दुवै देशका नागरिकको जग्गा वारपार पर्नुलाई भूमि कब्जा भन्न नमिल्ने नेकपाको भनाइ छ।
पार्टीले प्रधानमन्त्रीको अभिव्यक्ति संसदको रेकर्डबाट हटाउन र राष्ट्रिय हितका विषयमा राजनीतिक सहमति कायम गर्न सरकारसँग माग गरेको छ। यसैबीच, प्रधानमन्त्रीको उक्त भनाइलाई लिएर विभिन्न राजनीतिक दलहरूबीच बहस जारी छ। विपक्षी दलहरूले पनि संसदमा यो विषय उठाउने तयारी गरेका छन्।







