संसद कक्षमा सभामुख र सांसदबीच दूरी बढाइयो
Prime TV News ३ दिन अगाडि 
काठमाडौ । प्रतिनिधिसभा बैठक कक्षमा सभामुख र सांसदहरूबीचको दूरी बढाइएको छ। आइतबार संसदमा भएको तनावपछि सचिवालयले यस्तो निर्णय गरेको हो।
सचिवालयका अनुसार सभामुख बस्ने स्थान र सांसद बस्ने फ्लोरबीचको अगाडिका दुई पङ्क्ति हटाइएको छ। यसले सभामुख र सांसदबीचको दूरी बढाएको छ। संसद सचिवालयका प्रवक्ता एकराम गिरीका अनुसार आइतबारको घटनापछि सुरक्षा व्यवस्थालाई ध्यानमा राखेर यस्तो परिवर्तन गरिएको हो।
आइतबार प्रतिनिधिसभा नियमावली पारित गर्ने क्रममा विपक्षी दलहरूले प्रक्रियामाथि प्रश्न उठाउँदै बैठक अवरुद्ध गरेका थिए। उनीहरूले विषयलाई संसदीय समितिमा पठाउन माग गरेका थिए। तर सभामुख डिपी अर्यालले प्रक्रिया अघि बढिसकेको भन्दै माग अस्वीकार गरेका थिए। त्यसपछि विपक्षी सांसदहरूले नाराबाजी र वेल घेराउ गरेका थिए।
स्थिति तनावपूर्ण बनेपछि सभामुखले मर्यादापालकको घेरामा बसेर बैठक सञ्चालन गर्नुपरेको थियो। त्यसपछि संसद कक्षमा यस्तो घटना दोहोरिन नदिन संरचनागत परिवर्तन गरिएको सचिवालयले जनाएको छ।







