प्रधानमन्त्रीको अभिव्यक्तिप्रति गगन थापाको कडा आपत्ति
Prime TV News ३ दिन अगाडि 
काठमाडौ । नेपाली कांग्रेसका सभापति गगन थापाले प्रधानमन्त्री बालेन्द्र शाहले संसदमा दिएको सीमा सम्बन्धी अभिव्यक्तिलाई घोर आपत्तिजनक बताएका छन्।
सोमबार आयोजित एक कार्यक्रममा बोल्दै उनले यस्तो संवेदनशील विषयमा प्रधानमन्त्रीले दिएको अभिव्यक्तिले देशको सार्वभौमिकता, भौगोलिक अखण्डता र राष्ट्रिय सुरक्षामा असर पार्ने बताए। थापाले भने, “प्रधानमन्त्रीले यस्तो विषयमा बोलेको कुरा निन्दनीय छ, घोर आपत्तिजनक छ। कांग्रेस पार्टीले यसको पूर्ण रूपमा विरोध गर्छ।”
उनका अनुसार सीमा विवादजस्ता विषयमा देशको स्पष्ट अडान र प्रमाण हुने गर्छन्। तर प्रधानमन्त्रीको अभिव्यक्तिले ती अडानलाई कमजोर बनाएको उनको भनाइ छ। थापाले छिमेकी मुलुकसँग कूटनीतिक माध्यमबाट समाधान गर्न सकिने विषयमा पनि प्रधानमन्त्रीको भनाइले गलत सन्देश गएको टिप्पणी गरे।
प्रधानमन्त्रीको अभिव्यक्तिलाई लिएर विभिन्न राजनीतिक दलहरूले आलोचना गर्दै आएका छन्।







