भेपमा सुन तस्करी प्रकरण : कृष्णबहादुर महरालाई धरौटीमा रिहा गर्न आदेश
Prime TV News एक महिना अगाडि 
काठमाडौ । विशेष अदालतले भेपमार्फत सुन तस्करीमा सघाएको आरोप लागेका पूर्वसभामुख कृष्णबहादुर महरालाई एक लाख रुपैयाँ धरौटीमा रिहा गर्न आदेश दिएको छ।
सोमबार विशेष अदालतले महरामाथि लागेको आरोपको प्रारम्भिक सुनुवाइपछि एक लाख रुपैयाँ धरौटी माग गर्ने आदेश दिएको हो। भेपभित्र सुन लुकाएर नेपाल भित्र्याइएको चर्चित प्रकरणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले महरा र उनका छोरा राहुल महरासहित २९ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको थियो।
अख्तियारले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट भित्रिएको सुन तस्करीमा सहयोग गरेको आरोप महरामाथि लगाएको छ। उनीमाथि सुन छुटाउने प्रयासमा संलग्न व्यक्तिहरूसँग सम्पर्क र भेटघाट गरेको आरोप पनि छ। महराले अदालतले तोकेको धरौटी रकम बुझाएपछि रिहा हुनेछन्।







