भारतसँगको सम्बन्धलाई नयाँ दिशा दिनुपर्ने रवि लामिछानेको भनाइ

User Image Prime TV News २ दिन अगाडि
Image of भारतसँगको सम्बन्धलाई नयाँ दिशा दिनुपर्ने रवि लामिछानेको भनाइ

काठमाडौ । राष्ट्रिय स्वतन्न्र पार्टीका सभापति रवि लामिछानेले नेपाल र भारतबीचको सम्बन्धलाई नयाँ ढंगले अघि बढाउनुपर्ने बताएका छन् ।

भारत भ्रमणमा रहेका उनले नेपाल र भारत केवल दुई देश नभई प्राचीन सभ्यता र संस्कृतिले जोडिएका राष्ट्र भएको उल्लेख गरेका हुन् ।

भारतीय सञ्चारमाध्यम हिन्दुस्तान टाइम्समा प्रकाशित लेखमा लामिछानेले जनकपुर–अयोध्या तथा पशुपतिनाथ–केदारनाथको सम्बन्ध उदाहरण दिँदै दुई देशबीच धार्मिक र सांस्कृतिक सम्बन्ध गहिरो रहेको बताएका छन् ।

उनले पुराना विवाद र शत्रुतामा अल्झिरहन नहुने धारणा पनि राखेका छन् । नयाँ पुस्ताले खुला सोच, स्पष्ट दृष्टिकोण र पारदर्शी एजेन्डासहित सम्बन्ध अघि बढाउन चाहेको उनको भनाइ छ ।

लामिछानेले नेपालले विदेश नीतिमा परिवर्तन आवश्यक रहेको उल्लेख गर्दै आर्थिक विकास र रूपान्तरणमा केन्द्रित हुनुपर्ने बताएका छन् । उनले विगतका साना राजनीतिक समझदारीभन्दा जनस्तरको सम्बन्ध बलियो रहेको जिकिर गरेका छन् ।

नेपालका कमजोरी लुकाएर बस्ने समय नरहेको भन्दै उनले नेपाल–भारत सम्बन्धलाई अझ प्रभावकारी र भविष्यकेन्द्रित बनाउनुपर्ने आवश्यकता औँल्याएका छन् । रवि लामिछाने हाल पाँचदिने भारत भ्रमणमा रहेका छन् ।