पाँचथरको कात्तिके डाँडामा बोलेरो दुर्घटना, ६ जनाको मृत्यु

User Image Prime TV News एक दिन अगाडि
Image of पाँचथरको कात्तिके डाँडामा बोलेरो दुर्घटना, ६ जनाको मृत्यु

काठमाडौ । पाँचथर जिल्लाको दुर्गम पहाडी क्षेत्र कात्तिके डाँडामा शनिबार बिहान भएको बोलेरो गाडी दुर्घटनामा परी ६ जनाको ज्यान गएको छ भने ६ जना घाइते भएका छन्।

ताप्लेजुङबाट इटहरीतर्फ जाँदै गरेको मे १ ज ३०५५ नम्बरको बोलेरो गाडी कुम्मायक गाउँपालिका२ र ३ को सिमानामा पर्ने कात्तिके डाँडामा सडकबाट करिब ३०० मिटर तल खस्दा उक्त दुर्घटना भएको हो। गाडीमा सवार १२ मध्ये ६ जनाको घटनास्थलमै मृत्यु भएको पुष्टि भएको छ।

पाँचथरका प्रमुख जिल्ला अधिकारी अरुण पोखरेलका अनुसार मृतकमध्ये ३ महिला र ३ पुरुष छन्। दुर्घटनास्थल दुर्गम र भौगोलिक रूपमा अत्यन्तै अप्ठ्यारो रहेकाले उद्धार कार्यमा सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीको संयुक्त टोली खटिएको छ।

घटनास्थलमा अहिले पनि उद्धार तथा अनुसन्धान कार्य जारी रहेको प्रहरीले जनाएको छ। सडक साँघुरो, जोखिमयुक्त भूभाग र प्रतिकूल मौसमका कारण दुर्घटना भएको हुनसक्ने प्रारम्भिक अनुमान गरिएको छ। तर, दुर्घटनाको यथार्थ कारण भने अझै खुलेको छैन ।