सीमा सम्बन्धी अभिव्यक्तिपछि राष्ट्रिय सभा लगातार दोस्रो दिन पनि अवरुद्ध
Prime TV News २ दिन अगाडि 
काठमाडौ । राष्ट्रिय सभाको बैठक आज पनि कार्यसूचीमा प्रवेश गर्न सकेन। प्रधानमन्त्रीको सीमा सम्बन्धी अभिव्यक्तिमा माफी माग्नुपर्ने माग राख्दै विपक्षी दलहरूले लगातार दोस्रो दिन बैठक अवरुद्ध गरेका हुन्।
सोमबारदेखि सुरु भएको अवरोध मंगलबार पनि जारी रह्यो। विपक्षी दलहरूले प्रधानमन्त्रीको अभिव्यक्तिलाई लिएर आपत्ति जनाउँदै बैठक अघि बढ्न दिएनन्। आकस्मिक समयमा बोल्दै राष्ट्रिय जनमोर्चाका सांसद तुलप्रसाद विश्वकर्माले सीमा सम्बन्धी भनाइलाई ‘राष्ट्रघाती’ भन्दै कडा आलोचना गरे। उनले उक्त अभिव्यक्ति आफ्नै निर्णयमा आएको हो वा कसैको सल्लाहमा भन्ने विषय पनि स्पष्ट हुनुपर्ने बताए।
विवादित अभिव्यक्ति आइतबार प्रतिनिधिसभामा प्रधानमन्त्रीले दिएका थिए। उनले नेपाल–भारत सीमा समस्या कूटनीतिक माध्यमबाट समाधान गर्नुपर्ने बताएका थिए। साथै केही स्थानमा नेपालले पनि भारतको भूमि मिचेको हुन सक्ने उल्लेख गरेपछि विवाद बढेको हो।
विपक्षी दलहरूको अवरोधका कारण आजको बैठकमा विधेयक प्रमाणीकरणको जानकारी, आगामी आर्थिक वर्ष २०८३/०८४ को बजेटमाथि छलफल तथा अन्य विधेयकमाथिको कार्यसूची अघि बढ्न सकेन।
लगातारको अवरोधपछि सभाध्यक्ष नारायण दाहालले बैठक स्थगित गर्दै अर्को बैठक भोलिका लागि तोकेका छन्।







