सीमा विवादमा प्रधानमन्त्रीको अभिव्यक्ति विवादबारे सरकारको स्पष्टीकरण

User Image Prime TV News २ दिन अगाडि
Image of सीमा विवादमा प्रधानमन्त्रीको अभिव्यक्ति विवादबारे सरकारको स्पष्टीकरण

काठमाडौ । सरकारका प्रवक्ता तथा शिक्षा र खेलकुद मन्त्री सस्मित पोखरेलले प्रधानमन्त्रीको सीमा सम्बन्धी अभिव्यक्तिलाई लिएर उठेका प्रश्नमा स्पष्टिकरण दिएका छन्। उनका अनुसार सीमा विवाद कूटनीतिक वार्ता र पुरानै संयन्त्रमार्फत समाधान गरिनेछ।

मन्त्रिपरिषद् बैठकपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले प्रधानमन्त्रीले “नेपालले भारतको सीमा मिच्यो” भनेको नभई यस्तो कुरा सुन्दा अचम्म लागेको मात्र अभिव्यक्त गरेको दाबी गरे। उनले प्रधानमन्त्रीको भनाइलाई लिएर विपक्षीले गलत अर्थ लगाएको बताउँदै परराष्ट्र मन्त्रालयले यस विषयमा पहिले नै स्पष्टिकरण दिइसकेको पनि स्मरण गराए।

पोखरेलका अनुसार नेपाल–भारतबीच सीमा समस्या समाधानका लागि पहिलेदेखि नै विभिन्न संयन्त्रहरू छन् र ती संयन्त्रमार्फत नै काम भइरहेको छ। कतिपय स्थानमा एक देशले उपभोग गरिरहेको भूमि अर्को देशको हुन सक्ने विषय पनि अध्ययनकै क्रममा रहेको उनले बताए।

सीमा विवाद समाधानका लागि दुवै देशबीच कूटनीतिक नोट आदान–प्रदान भइसकेको र छलफलमार्फत समाधान गर्ने प्रक्रिया अघि बढेको उनले जानकारी दिए। प्रधानमन्त्रीले संसद्मा आएर थप स्पष्ट पार्ने कि नपार्ने भन्ने प्रश्नमा प्रवक्ता पोखरेलले प्रधानमन्त्री सदनप्रति पूर्ण रूपमा उत्तरदायी रहेको भन्दै आवश्यक परे फेरि पनि जवाफ दिन तयार रहने बताए।

यसैबीच मानव अधिकार आयोगको प्रतिवेदनबारे सोधिएको प्रश्नमा उनले प्रतिवेदन सरकारलाई औपचारिक रूपमा प्राप्त भएपछि मात्र आवश्यक प्रक्रिया अघि बढाइने जानकारी दिए।