प्रधानमन्त्रीको संसद उपस्थिति र हाजिरी विवरण सार्वजनिक गर्न हर्क साम्पाङको माग

User Image Prime TV News २ दिन अगाडि
Image of प्रधानमन्त्रीको संसद उपस्थिति र हाजिरी विवरण सार्वजनिक गर्न हर्क साम्पाङको माग

काठमाडौ । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले प्रधानमन्त्री बालेन्द्र शाहको संसद उपस्थितिको हाजिरी अभिलेख परीक्षण गर्न माग गरेका छन्। उनले यो विषय आज बसेको प्रतिनिधि सभा बैठकमा उठाएका हुन्।

बैठकमा बोल्दै साम्पाङले प्रधानमन्त्री संसदमा कहिले–कहिले उपस्थित भए र हाजिर गरे कि गरेनन् भन्ने आधिकारिक विवरण सार्वजनिक गर्नुपर्ने बताए। उनका अनुसार संसदमा हाजिर नगरेको प्रमाणित भए प्रधानमन्त्री प्रतिनिधि सभा सदस्य नै नरहेको ठहर हुन सक्छ।

साम्पाङले प्रतिनिधि सभा नियमावलीको नियम ७७ (१) को उल्लेख गर्दै कुनै व्यक्ति लगातार अनुपस्थित रहेमा सदस्यता समाप्त हुने व्यवस्था रहेको दाबी गरे। त्यस आधारमा प्रधानमन्त्रीको हाजिरी अभिलेख जाँच गर्न उनले अभिलेख शाखालाई अनुरोध गरेका छन्।

उनले संसद सचिवालयलाई प्रधानमन्त्रीको उपस्थितिको सम्पूर्ण रेकर्ड देखाउन माग गर्दै यस विषयमा स्पष्टता आवश्यक रहेको बताए। साम्पाङले संसदमा उपस्थित नभई पदमा बस्न नहुने भन्दै कडा टिप्पणीसमेत गरेका थिए।

उनको यो अभिव्यक्तिपछि संसदमा केही समय छलफल र बहस पनि भएको थियो। केही सांसदहरूले यसलाई प्रक्रियागत विषय भनेका छन् भने केहीले राजनीतिक रूपमा उठाइएको मुद्दा भएको टिप्पणी गरेका छन्। प्रधानमन्त्रीको संसद उपस्थिति र हाजिरीबारे उठेको यो प्रश्नपछि संसदभित्रको बहस थप चर्किएको छ।