प्रधानमन्त्रीको अभिव्यक्तिमा विवाद, प्रतिनिधि सभा बैठक स्थगित
Prime TV News २ दिन अगाडि 
काठमाडौ । प्रधानमन्त्री बालेन्द्र शाहको सीमा सम्बन्धी अभिव्यक्तिलाई लिएर विपक्षी दलहरूले विरोध जनाएपछि प्रतिनिधि सभाको बैठक स्थगित भएको छ।
मंगलबार बैठक सुरु हुनेबित्तिकै विपक्षी दलका सांसदहरू आफ्नो स्थानबाट उठेर विरोधमा उत्रिएका थिए। उनीहरूले प्रधानमन्त्रीले संसदमा दिएको अभिव्यक्ति फिर्ता लिनुपर्ने, संसद्को अभिलेखबाट हटाउनुपर्ने तथा सदनमा उपस्थित भएर माफी माग्नुपर्ने माग गरेका छन्।
विपक्षी दलहरूले आफ्ना माग पूरा नभएसम्म संसद् बैठक सञ्चालन हुन नदिने अडान दोहोर्याएका छन्। विरोध जारी रहँदा सभामुख डोलप्रसाद अर्यालले बैठक सञ्चालन गर्ने प्रयास गरेका थिए। तर विपक्षी सांसदहरू सभामुखको आसन अगाडि पुगेर घेराउमा उत्रिएपछि सदनको वातावरण थप तनावपूर्ण बनेको थियो।
अवरोध कायमै रहेपछि सभामुख अर्यालले बैठक स्थगित गरेका छन्। अब प्रतिनिधि सभाको अर्को बैठक जेठ २५ गते सोमबार बिहान ११ बजे बस्ने तय गरिएको छ। यसअघि राष्ट्रिय सभामा पनि यही विषयलाई लिएर विपक्षी दलहरूले विरोध जनाएका थिए। अवरोधका कारण राष्ट्रिय सभा बैठक पनि स्थगित भएको थियो।
प्रधानमन्त्रीको अभिव्यक्तिलाई लिएर संसद्का दुवै सदनमा विवाद चर्किँदा बजेटसँग सम्बन्धित महत्वपूर्ण कार्यसूचीहरू समेत प्रभावित भएका छन्।







