नेपाल–भारत सम्बन्धमा अझै ‘गाँठो’ बाँकी छ : बाबुराम भट्टराई

User Image Prime TV News एक दिन अगाडि
Image of नेपाल–भारत सम्बन्धमा अझै ‘गाँठो’ बाँकी छ : बाबुराम भट्टराई

काठमाडौ । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले नेपाल–भारत सम्बन्धमा बाहिर देखिने मित्रताभन्दा भित्र गहिरा समस्या रहेको बताएका छन् ।

रास्वपा सभापति रवि लामिछानेको भारत भ्रमण र भारतीय पत्रिका ‘द हिन्दुस्तान टाइम्स’ मा प्रकाशित लेखलाई लिएर सामाजिक सञ्जालमार्फत प्रतिक्रिया दिँदै भट्टराईले यस्तो बताएका हुन् ।

उनले विकास साझेदारी, रोटी–बेटी सम्बन्ध र सांस्कृतिक निकटताका कुरा हुँदा नेपाल र भारत दुवैतिर सकारात्मक माहोल बन्ने बताए । आफ्नो प्रधानमन्त्रीकालमा बिप्पा सम्झौता हुँदा पनि दुवै देशमा उत्साह देखिएको उनले स्मरण गरेका छन् ।

तर, नेपाल–भारत सम्बन्धको अर्को गम्भीर पक्ष भने सामरिक सुरक्षा र राष्ट्रिय सार्वभौमसत्तासँग जोडिएको उनको भनाइ छ । उनले भारतीय पक्षमा 'हिमाल वरपरको क्षेत्र आफ्नो सुरक्षाको घेरा' भन्ने सोच गहिरो रूपमा बसेको दाबी गरेका छन् ।

त्यसैगरी नेपाली समाजमा ‘सिक्किमीकरण’ को डर अझै जीवित रहेको उल्लेख गर्दै यही कारणले दुई देशबीचको सम्बन्ध बेला–बेला तनावपूर्ण बन्ने गरेको बताएका छन् ।

भट्टराईले यही समस्या समाधानका लागि आफूले प्रबुद्ध व्यक्ति समूह (इपीजी) को अवधारणा अघि सारेको स्मरण गरेका छन् । तर, इपीजीको प्रतिवेदन अझै कार्यान्वयन हुन नसकेको भन्दै उनले असन्तुष्टि जनाएका छन् ।

अन्त्यमा उनले रवि लामिछानेको भारत भ्रमणले नेपाल–भारत सम्बन्धमा देखिएको पुरानो दुष्चक्र तोड्न भूमिका खेलोस् भन्ने अपेक्षा व्यक्त गरेका छन् ।