भारी वर्षा प्रणाली काठमाडौं उपत्यकातर्फ प्रवेश गर्यो, सतर्कता आवश्यक
Prime TV News ११ महिना अगाडि 
काठमाडौ । शनिबार बिहानदेखि पर्साको वीरगञ्ज आसपासबाट सुरु भएको भारी वर्षा गर्ने प्रणाली विस्तार हुँदै काठमाडौं उपत्यका प्रवेश गरेको छ।
जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार, पछिल्लो एक घण्टामा वीरगञ्ज क्षेत्रमा सबैभन्दा धेरै वर्षा भएको छ भने वर्षाको मात्रा लगातार बढ्दै गएको छ।
यो प्रणालीले वीरगञ्ज, जितपुर, निजगढ, हेटौडा हुँदै काठमाडौं उपत्यका सम्म भारी वर्षा गराउने सम्भावना देखिएको छ। विशेषगरी काठमाडौंको दक्षिणी भागमा उत्तर भागको तुलनामा बढी वर्षा भईरहेको छ।
पछिल्लो २४ घण्टामा बीरगञ्जमा १४४ मिलिमिटर, बाराको कलैयामा १४० मिलिमिटर र काठमाडौंको गोदावरीमा ८२ दशमलव ४ मिलिमिटर वर्षा भइसकेको छ।
जल तथा मौसम पूर्वानुमान महाशाखाले २४ घण्टामा १४० मिलिमिटर वा त्योभन्दा बढी वर्षा ‘चेतावनीको तह’ रहेको बताएको छ। यस्तो अवस्थामा तराई क्षेत्रमा डुबान र पहाडी क्षेत्रमा पहिरोको जोखिम रहन्छ।
मौसमविद्हरूले काठमाडौं उपत्यकामा शनिबार अपरान्हदेखि वर्षा प्रणाली थप सक्रिय भएर भारी वर्षा हुने चेतावनी दिएका छन्। स्थानीय सरकार र नागरिकहरूले सतर्क रहन आग्रह गरिएको छ।







