अमेरिका–इरान वार्ता रोकिएको होइन : ट्रम्प
Prime TV News एक दिन अगाडि 
काठमाडौ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिका र इरानबीचको वार्ता रोकिएको भन्ने समाचार गलत भएको बताएका छन् ।
सामाजिक सञ्जाल ‘ट्रुथ सोसल’मार्फत ट्रम्पले पश्चिम एसियामा तनाव जारी रहे पनि दुवै देशबीच संवाद निरन्तर चलिरहेको बताएका हुन् । उनले वार्ता टुटेको भन्ने दाबीमा कुनै सत्यता नरहेको उल्लेख गरेका छन् ।
ट्रम्पका अनुसार पछिल्ला केही दिनदेखि अमेरिका र इरानबीच लगातार छलफल भइरहेको छ । उनले इरानमाथि नयाँ सम्झौताका लागि दबाब पनि बढाइएको संकेत दिएका छन् ।
'मैले इरानलाई अब सम्झौता गर्ने समय आएको छ भनेको छु । ४७ वर्षदेखि एउटै अवस्था दोहोरिएको छ, अब यसलाई अझै लम्ब्याउन सकिँदैन,' ट्रम्पले बताएका छन् ।
यद्यपि, इरानी सञ्चारमाध्यमहरूको दाबी भने फरक रहेको छ । इरानको ‘तस्निम न्युज एजेन्सी’का अनुसार लेबनानमा इजरायलले सैन्य गतिविधि बढाएपछि इरानले अप्रत्यक्ष वार्तालाई हालका लागि रोकिएको जनाएको छ ।
पश्चिम एसियामा बढ्दो तनावका बीच अमेरिका–इरान सम्बन्धलाई लिएर अन्तर्राष्ट्रिय चासो अझ बढिरहेको छ ।







