संसदमा दर्ता भएको आर्थिक विधेयक र वेबसाइटको प्रतिमा फरक देखिएपछि विवाद

User Image Prime TV News एक दिन अगाडि
Image of संसदमा दर्ता भएको आर्थिक विधेयक र वेबसाइटको प्रतिमा फरक देखिएपछि विवाद

काठमाडौ । संसदमा दर्ता भइसकेको आर्थिक विधेयक र अर्थ मन्त्रालयको वेबसाइटमा सार्वजनिक गरिएको प्रतिमा फरक देखिएको भन्दै विवाद उत्पन्न भएको छ।

अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले जेठ १५ गते संसदमा आर्थिक विधेयक पेश गरेका थिए। संसदमा दर्ता भएको विधेयक ४६४ पृष्ठको रहेको बताइएको छ। तर अर्थ मन्त्रालयको वेबसाइटमा राखिएको पछिल्लो प्रतिमा ४४८ पृष्ठ मात्र रहेको देखिएको छ। यसले १६ पृष्ठ हटाइएको आशंका पैदा गरेको छ।

केही सांसद र संसदीय मामिलाका जानकारहरूले संसदमा दर्ता भइसकेको विधेयकमा परिवर्तन गर्न संसद्को स्वीकृति आवश्यक पर्ने बताएका छन्। उनीहरूका अनुसार विधेयकमा संशोधन गर्नुपर्ने भए संसदमै प्रक्रिया पूरा गर्नुपर्छ।

संसद् सचिवालयका पूर्वसचिव सोमबहादुर थापाले संसदमा पेश भइसकेको विधेयक मन्त्रालयले आफैं सच्याउन नमिल्ने बताए। उनका अनुसार करसम्बन्धी व्यवस्थामा परिवर्तन गरिएको भए त्यो गम्भीर विषय हुन सक्छ। यस विषयमा नेपाली कांग्रेसले पनि अध्ययन गरिरहेको जनाएको छ।

कांग्रेसकी प्रमुख सचेतक बासना थापाले संसदमा दर्ता भइसकेको विधेयकमा आफूखुसी हेरफेर गरिएको प्रारम्भिक आशंका रहेको बताइन्। उनले यस विषयमा संसदमा कुरा उठाउने र पार्टीले आधिकारिक धारणा बनाएर अघि बढ्ने जानकारी दिइन्।

यद्यपि अर्थ मन्त्रालयले यस विषयमा औपचारिक प्रतिक्रिया सार्वजनिक गरेको छैन। संसदमा पेश भएको र वेबसाइटमा राखिएको विधेयकबीच वास्तवमा के–कस्ता फरक छन् भन्ने विषयमा थप अध्ययन र स्पष्टता आवश्यक रहेको सरोकारवालाहरूले बताएका छन्।