समस्याग्रस्त सहकारीका सञ्चालकको सम्पत्तिबारे सूचना दिन सार्वजनिक आह्वान
Prime TV News एक दिन अगाडि 
काठमाडौ । समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले समस्याग्रस्त घोषित २३ सहकारी संस्थाका सञ्चालकहरूको लुकाइएको सम्पत्तिबारे जानकारी दिन सर्वसाधारणलाई आह्वान गरेको छ।
समितिले सञ्चालकहरूको नामसहितको विवरण सार्वजनिक गर्दै उनीहरूले सहकारीको बचत रकम वा सम्पत्ति हिनामिना गरी परिवार, आफन्त वा अन्य व्यक्तिको नाममा सम्पत्ति लुकाएको जानकारी भए कार्यालयमा सूचना उपलब्ध गराउन अनुरोध गरेको हो।
समितिका अनुसार समस्याग्रस्त सहकारी संस्थाको सम्पत्ति खोजी, दायित्व व्यवस्थापन र बचतकर्ताको रकम फिर्ता प्रक्रियालाई प्रभावकारी बनाउन यस्तो सूचना संकलन गर्न लागिएको हो। यससँगै समितिले सम्बन्धित सहकारीका सञ्चालकहरूलाई ऋण असुली, सम्पत्ति पहिचान तथा व्यवस्थापनलगायतका काममा सहयोग गर्न आग्रह गरेको छ।
बचत फिर्ता तथा दायित्व व्यवस्थापनका लागि नियमित रूपमा समितिको सम्पर्कमा रहन पनि भनिएको छ। समितिले सहयोग नगरे वा कानुनी दायित्व पूरा नगरे प्रचलित कानुनअनुसार कारबाही हुन सक्ने चेतावनी दिएको छ। साथै, सार्वजनिक गरिएको विवरणमा कुनै त्रुटि वा अद्यावधिक गर्नुपर्ने विषय भए समितिको कार्यालयमा सम्पर्क गरी आवश्यक जानकारी उपलब्ध गराउन सम्बन्धित पक्षलाई आग्रह गरिएको छ।







