कम्युनिस्ट आन्दोलनले इतिहासकै ठूलो धक्का व्यहोरेको छ : विष्णु पौडेल

User Image Prime TV News एक दिन अगाडि
Image of कम्युनिस्ट आन्दोलनले इतिहासकै ठूलो धक्का व्यहोरेको छ : विष्णु पौडेल

काठमाडौ । नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेलले पछिल्लो प्रतिनिधिसभा निर्वाचनपछि नेपालको कम्युनिस्ट आन्दोलनले इतिहासकै ठूलो धक्का र पराजय व्यहोरेको बताएका छन्।

सदस्यता नवीकरण कार्यशालालाई सम्बोधन गर्दै उनले निर्वाचन परिणामले पार्टी र समग्र कम्युनिस्ट आन्दोलनलाई गम्भीर असर परेको बताए। आन्दोलन अब उठ्न नसक्ने र समाप्त हुने अनुमान तथा कामना गर्नेहरू पनि रहेको उनको भनाइ थियो।

पौडेलले कम्युनिष्ट आन्दोलनको इतिहासलाई हेर्दा हालको अवस्था सबैभन्दा कठिन मोड भएको उल्लेख गर्दै यसलाई आत्मसमीक्षाको अवसरका रूपमा लिनुपर्ने बताए। उनले विगतका कमजोरीबाट शिक्षा लिएर आन्दोलनलाई पुनः सशक्त बनाइने दाबी गरे।

उनले पार्टी र जनताबीचको सम्बन्ध कमजोर भएको संकेत गर्दै आगामी दिनमा जनतासँगको सम्बन्ध बलियो बनाउने दिशामा अघि बढ्ने बताए। जनताको विश्वास पुनः जित्दै संगठनलाई सुदृढ बनाउने र राष्ट्रिय हितलाई केन्द्रमा राखेर काम गर्ने उनको भनाइ थियो।

उपाध्यक्ष पौडेलले वर्तमान चुनौतीलाई पार गर्दै एमाले र कम्युनिस्ट आन्दोलन पुनः उभिने विश्वास व्यक्त गर्दै कार्यकर्तालाई निराश नहुन आग्रह गरे। उनले पार्टी जनतामाझ फर्किएर नयाँ ऊर्जा र प्रतिबद्धतासहित अघि बढ्ने बताए।