लुम्बिनी प्रदेशमा एमालेका चार मन्त्रीले दिए राजीनामा
Prime TV News एक महिना अगाडि 
काठमाडौ । लुम्बिनी प्रदेशमा नेकपा एमालेका चार जना मन्त्रीले राजीनामा दिएका छन्। मुख्यमन्त्री चेतनारायण आचार्यको निर्देशनपछि उनीहरूले पद छोडेका हुन्।
राजीनामा दिने मन्त्रीहरूमा भौतिक पूर्वाधार विकास मन्त्री भूमिश्वर ढकाल, ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्री सीता शर्मा चौधरी, कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्री दिनेश पन्थी र स्वास्थ्य मन्त्री खेम सारुमगर रहेका छन्। मुख्यमन्त्री आचार्यले पार्टीभित्रको निर्णय र सल्लाहअनुसार मन्त्रीहरूले राजीनामा दिएको बताएका छन्।
एमाले अध्यक्ष केपी शर्मा ओलीको निर्देशनपछि सरकारमा रहेका मन्त्रीहरू परिवर्तन गरिएको बताइएको छ। यसअघि पनि मन्त्री हेरफेरको प्रयास भए पनि कांग्रेसले एकैपटक सरकार पुनर्गठन गर्नुपर्ने अडान लिएपछि प्रक्रिया रोकिएको थियो। एमाले स्रोतका अनुसार अब नयाँ मन्त्रीका रूपमा डिल्लीराज भुसाल, रामजी घिमिरे, तुलसीप्रसाद चौधरी र रत्न खत्रीको नाम सिफारिस गरिएको छ।
प्रदेश सरकारले मन्त्रालय संख्या घटाएर ८ बनाउने तयारी पनि गरेको छ। कांग्रेसले सरकारको नेतृत्व परिवर्तनको दबाब दिइरहेको भए पनि मुख्यमन्त्री आचार्यले बजेटपछि मात्रै नेतृत्व छाड्ने अडान लिएका छन्।







