अविरल वर्षाका कारण लामो दूरीका सवारी रोकिए, यात्रु व्यवस्थापनमा जोड

User Image Prime TV News एक दिन अगाडि
Image of अविरल वर्षाका कारण लामो दूरीका सवारी रोकिए, यात्रु व्यवस्थापनमा जोड

काठमाडौ । देशभर निरन्तर भइरहेको भारी वर्षाले जनजीवन प्रभावित बनाइरहेका बेला सरकारद्वारा लामो दूरीका सवारी साधनमा अस्थायी प्रतिबन्ध लगाइएको छ।

यसैबीच, बाटोमै रोकिएका यात्रुको व्यवस्थापनका लागि राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले देशभरका जिल्ला प्रशासन कार्यालयहरूलाई आवश्यक निर्देशन दिएको छ।

अत्यधिक वर्षाबाट बाढी, पहिरो र डुबानको उच्च जोखिम भएकाले असोज १८ देखि २० गतेसम्म लामो दूरीका सार्वजनिक सवारी साधनको आवागमनमा रोक लगाइएको हो।

तर सूचना जारी हुनु अघि नै प्रस्थान गरेका धेरै गाडीहरु विभिन्न स्थानमा रोकिएका छन्। तिनै यात्रुहरूको तत्काल सुरक्षाका लागि स्थानीय प्रशासनलाई सक्रिय हुन भनिएको छ।

प्राधिकरणका उपसचिव रामबहादुर केसीका अनुसार, रोकिएका यात्रुहरूलाई सुरक्षित स्थानमा राख्ने, खानपानको व्यवस्था गर्ने, आवश्यक परे स्वास्थ्य उपचार पनि उपलब्ध गराउने कार्यमा सम्बन्धित स्थानीय तह, यातायात व्यवसायी, सरकारी तथा गैरसरकारी संस्था र निजी क्षेत्रबीच समन्वय गरिनेछ।

यसबाहेक, प्राधिकरणले काठमाडौं उपत्यकाका नदी किनारमा रहेका करिडर सडकहरूमासाँझ ६ः०० बजेदेखि बिहान ६ः०० बजेसम्म सवारी चलाउन रोक लगाउन समेत आग्रह गरेको छ ।

प्राधिकरणले यस आपत्कालीन व्यवस्थापनका लागि गृह मन्त्रालय, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय, नेपाल नगरपालिका संघ र गाउँपालिका राष्ट्रिय महासंघलाई पनि समन्वयका लागि जानकारी गराएको छ।