ओलीको सामुन्ने एमाले नेता बिष्णु पौडेलले भने–समय अनुसार आफूलाई परिवर्तन र पुनर्गठन गर्न नसक्ने दलहरू टिक्न सक्दैनन्
Prime TV News एक दिन अगाडि 
काठमाडौ । नेपका एमालेका उपाध्यक्ष विष्णुप्रसाद पौडेलले पछिल्लो चुनावी पराजयबारे नेकपा एमालेले गम्भीर समीक्षा गरिरहेको बताएका छन्।
राजधानीमा आयोजित एक कार्यक्रममा बोल्दै उनले पार्टी अहिले सामान्य अवस्थामा नरहेको स्वीकार गरे। चुनावमा धक्का खानुका पछाडि पार्टीका आफ्नै कमजोरी र गल्तीहरू रहेको उनको भनाइ थियो। ‘हामीबाट गल्ती भएको छ, गल्ती नभई धक्का खाइँदैन,’ भन्दै पौडेलले पार्टीले आगामी एक महिना चुनावी परिणामको निर्मम समीक्षा गर्ने बताए।
उनले इतिहासका उदाहरण दिँदै गलत निर्णयका कारण राजनीतिक दलहरू कमजोर बन्न सक्ने बताए। समयअनुसार आफूलाई परिवर्तन र पुनर्गठन गर्न नसक्ने दलहरू टिक्न नसक्ने उनको तर्क थियो।
पौडेलले एमालेलाई थप बलियो बनाउन व्यापक पुनर्गठन आवश्यक रहेको धारणा पनि राखे। उनका अनुसार बदलिएको राजनीतिक परिस्थिति अनुसार पार्टीलाई नयाँ ढंगले अगाडि बढाउनुपर्ने आवश्यकता छ।
कार्यक्रममा एमाले अध्यक्ष केपी शर्मा ओलीले भने समीक्षा आवश्यक भए पनि त्यसको उद्देश्य पार्टीलाई कमजोर बनाउने नभएको स्पष्ट पारे। उनले समीक्षा आन्तरिक सुधारका लागि हुने र पार्टीलाई अझ सशक्त बनाउने दिशामा केन्द्रित रहने बताए।
ओलीले समीक्षा र संघर्ष फरक विषय भएको उल्लेख गर्दै पार्टीभित्रका कमजोरी सच्याएर अगाडि बढ्ने धारणा राखे।







