धवलशमशेर जबराको आरोप : राप्रपाले वैधानिक आधार गुमायो
Prime TV News एक दिन अगाडि 
काठमाडौ । राप्रपा छाडेर नयाँ दल गठनको तयारीमा लागेका धवलशमशेर जबराले राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनको हालैको विज्ञप्तिलाई भ्रमपूर्ण भन्दै आलोचना गरेका छन्।
बुधबार विज्ञप्ति जारी गर्दै जबराले राप्रपाको केन्द्रीय समितिले वैधानिक आधार गुमाइसकेको दाबी गरेका हुन्। उनले पार्टीभित्र लामो समयदेखि उठाइएका सुझाव र सल्लाहलाई नेतृत्वले बेवास्ता गरेको आरोप पनि लगाए।
यसअघि अध्यक्ष लिङ्देनले पार्टी छाड्ने तयारीमा रहेका धवलशमशेर सहितका नेताहरूलाई पुनः पार्टीमै फर्कन आग्रह गरेका थिए। तर जबराले त्यसलाई ‘शब्दजाल’ भन्दै नेता–कार्यकर्तालाई भ्रममा नपर्न अपिल गरेका छन्।
उनले राष्ट्रवादी विचार बोकेका सबै समूह, शक्ति र व्यक्तिहरू एकजुट भएर नयाँ राजनीतिक शक्ति निर्माण गर्नुपर्ने आवश्यकता औंल्याएका छन्। नयाँ राष्ट्रवादी अभियानमार्फत राजनीतिक विकल्प निर्माण गर्ने प्रयासमा आफूहरू लागिरहेको पनि उनले बताएका छन्।
जबराले केन्द्रीय समितिको म्याद थपिएको अवधि समेत समाप्त भइसकेकाले पार्टीले वैधानिकता गुमाएको दाबी गरेका छन्। साथै नेतृत्वकै कार्यशैलीका कारण पार्टी चुनावी रूपमा मात्र होइन, वैचारिक र संगठनात्मक रूपमा पनि कमजोर बनेको उनको आरोप छ।
उनले नेतृत्वले आफ्ना कमजोरी स्वीकार नगरी अरूमाथि दोष थोपर्ने प्रवृत्ति अपनाएको भन्दै त्यसकै कारण पार्टी जनताबाट टाढिँदै गएको टिप्पणी गरेका छन्।







