भ्रष्टाचार मुद्दामा मधेस प्रदेश सांसद सरोजकुमार सिंहलाई कैद सजाय

User Image Prime TV News एक दिन अगाडि
Image of भ्रष्टाचार मुद्दामा मधेस प्रदेश सांसद सरोजकुमार सिंहलाई कैद सजाय

काठमाडौ । मधेस प्रदेशका सांसद एवं पूर्वराज्यमन्त्री सरोजकुमार सिंहलाई भ्रष्टाचार मुद्दामा विशेष अदालतले कैद सजाय सुनाएको छ।

विशेष अदालतले उनलाई चार वर्ष एक महिना कैद सजाय तोकेको हो। अदालतले उनलाई ३८ लाख ५० हजार १३९ रुपैयाँ जरिवाना तिर्न पनि आदेश दिएको छ। साथै एक लाख ५४ हजार ५ रुपैयाँ क्षतिपूर्ति असुल गर्नुपर्ने फैसला पनि गरेको छ।

यसअघि अदालतले जेठ ४ गते सिंहलाई भ्रष्टाचार मुद्दामा दोषी ठहर गरेको थियो। त्यसपछि सजाय निर्धारणका लागि छुट्टै सुनुवाइ भएको हो। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सिंहसहित १६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको थियो।

आरोपअनुसार संसद् विकास कोष अन्तर्गतको एक आयोजनामा उपभोक्ता समिति मार्फत रकम हिनामिना गरिएको थियो। सो रकम स्वकीय सचिवमार्फत निकालेर आफ्नो र श्रीमतीको नाममा रहेको खातामा जम्मा गरिएको दाबी गरिएको थियो। अदालतको फैसलासँगै यस प्रकरणमा थप कानुनी प्रक्रिया अघि बढ्ने अपेक्षा गरिएको छ।